
लण्डन । नेकपा माओवादीको प्रवास कमिटी जनप्रगतिशील मञ्च बेलायतको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । १२ डिसेम्बरमा भर्चुअल माध्यमबाट मञ्चको चौथो सम्मेलन हुने भएको हो ।
जनप्रगतिशिल मञ्च बेलायत सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले कोरोना नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सम्मेलन भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । आयोजक समितिका अध्यक्ष तथा मञ्चका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउन कार्यविभाजन समेत गरेको छ ।
सम्मेलन सफल बनाउन प्रचार/प्रसारका लागि सचिवालय सदस्य तथा युवा/विद्यार्थी विभाग प्रमुख नविन स्याङतानको संयोजकत्वमा २१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सम्मेलनको क्रममा संघसंस्थाहरूसँग समन्वय गरी पत्रकारहरू र संघसंस्था प्रमुखहरूलाई भर्चुअल माध्यमबाटै सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न सचिवालय सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघसंस्था समन्वय उपसमिति पनि गठन गरिएको छ ।
पार्टी एकीकरण लगायत अन्य कारणले हुन नसकेको सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न हुने सम्मेलनको विशेष अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ रहनेछ । साथै सम्मलेनका अन्य अतिथिहरुमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिब टिबी पाठक, नेपाली जनप्रगतिशील मञ्च यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्रीको समेत उपस्थिती रहने छ ।







