भोजपुरमा बाख्राले अचम्मको पाठो जन्माएपछि सबै चकित…

  प्रदीपचन्द्र राई

 

भोजपुर नगरपालिका ८ पोखरे खावास्थित स्थानीय हर्क बहादुर कार्कीको बाख्राले जन्माएको अनौठो पाठा । तश्विर सौजन्यः रमेश कार्की

 

भोजपुर । हिजोआज सामाजिक सञ्जाल केहि अनौठा तश्विर देख्दा पनि भाइरल हुने गर्छ । अत्यन्त जिज्ञासु र चलायमान प्रविधिको जमानामा यस्ता आश्चर्य लाग्दा तश्विर र भिडियोले मानिसको मनमा कौतुहलता पैदा गरेको छ । यस्तै अचम्म लाग्दो घटना घटेको छ, भोजपुर नगरपालिका ८ पोखरे खावामा पनि ।
स्थानीय हर्क बहादुर कार्कीले पालेको बाख्राले अनौठो पाठा जन्माएको छ । गत मंसिर १९ गते कार्कीको बाख्राले अचम्मको पाठा जन्माएपछि स्थानीय बासिन्दाहरू पनि चकित बनेका थिए । त्यो बाख्राको पाठाको स्वरुप नै अप्राकृतिक देखिन्छ । पाठाको दुईटा जोडिएको टाउको र मुख, चारवटा आँखा, तीनवटा सिङ पलाउने ठाउँ छ । जुन एकदमै अचम्मित बनाउने खालको छ ।
‘एकदमै अनौठो घटना भयो, अहिलेसम्म कतै सुनेको पनि थिईन, देखेको पनि थिईन’ हर्क बहादुरकी श्रीमती दयादेबी कार्कीले भनिन्, ‘भगवानको कृपाले होला, यस्तो अचम्म पाठा हाम्रो बाख्राले जन्मायो’ अर्को अनौठो कुरा के भने, नवजात उक्त पाठाले माउ बाख्राको दुध नपिई गाईको दुध पिएको कुरा अझ चकित बनाएको हर्कबहादुर कार्कीले बताए । साथि पाठीले दुवै मुखले एकैचोटी कराउने गरेको उनले बताए । बाख्राले जन्माएको दुवै जुम्ल्याहा पाठाहरु स्वस्थ छन् ।
धार्मिक आस्थावान स्थानीयहरु उक्त पाठालाई भगवान स्वरुपको संज्ञा दिएका छन् । ‘यस्तो अनौठो घटना हुनु भगवानकै चमत्कार हो, नत्र यस्तो जमानामा पनि अद्भुत पाठो जन्माउनु सामान्य कुरो होइन’ स्थानीय दिनेश कार्कीले सुनाए । सदरमुकामको केहि दुरीमा पर्ने भएकाले पनि उक्त बाख्राको पाठा हेर्न मानिसको ठुलो भिड लागेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार