एमालेको चुनावकेन्द्रीत योजना: मतदातासँग सम्पर्क

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना सार्वजनिक गरेको छ। एमालेको बागमती प्रदेश संगठन कमिटीले स्थानीय तह निर्वाचन केन्द्रीत दुई महिने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो।

 

जसमा प्रदेशदेखि वडा र टोलसम्म कमिटी गठन, मतदातासँग सोझो सम्पर्क, पार्टीले गरेका राम्रा काम र विपक्षीका नराम्रा कामको अडियो/भिडियो बनाउने, विपक्षीको शक्ति आँकलन गर्ने, घरदैलो अभियान प्रभावकारी बनाउने, सामाजिक सञ्जालको प्रयोग गर्ने उल्लेख छ।

 

एमाले बागमती प्रदेश कमिटी प्रचार विभाग प्रमुख महेश गड्तौलाले सार्वजनिक गरेको कार्ययोजनामा टोल कमिटी निर्माण, वडा तहसम्म कार्यालय व्यवस्थित तथा स्थापना चैत पहिलो साताभित्र गरिसक्नुपर्ने उल्लेख छ। कार्यालयबाट नेता कार्यकर्ताको समुचित परिचालन, निर्वाचनमा खटिने कार्यकर्ताको अभिलेख राख्ने पनि भनिएको छ।

त्यसैगरी चैत महिनाभित्र राजनीतिक परिवर्तन, राष्ट्रिय हित, समृद्ध नेपाल जग बसाउन एमालेको भूमिका र जबज सिद्धान्त र विचारबारे प्रशिक्षण दिन भनिएको छ।  कार्ययोजनाअन्तर्गत चैत १० भित्र तल्लो तहसम्म विधानअनुसार जनसंगठन गठन गर्न, २० गतेभित्र जनसंगठनका जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ।

 

कार्ययोजनाअन्तर्गत स्थानीय तह निर्वाचनका लागि ७ वटा जिम्मेवारी तोकिएको छ। जसमा मतदाता नामावली अपडेट अन्तिम भइसकेकाले निर्वाचन आयोगसँग समन्वय गरी वा आयोगको वेवसाइटबाट डाउनलोड गरी प्रिन्ट गरेर हरेक मतदाताको सूचना लिने, सम्पर्क गर्ने र तत्कालदेखि मतदानको दिनसम्म उक्त मतदाता नामावली मतदान केन्द्रसम्म पुऱ्याउने र तथ्यांक लिने भनिएको छ।

 

त्यसैगरी मतदाताका सदस्यमध्ये कोही विदेशमा भएमा उनीहरुसँग सम्पर्क गरी निर्वाचनमा पार्टीको पक्षमा मतदानका लागि सहयोग माग्ने एमालेको योजना छ। पार्टी र जनसंगठनका विभिन्न कमिटीमा आबद्ध सदस्यहरु जिल्ला बाहिर भए तत्काल सम्बन्धित भूगोलमा फर्कन र तोकिएको जिम्मेवारी पूरा गर्न लगाउने भनिएको छ।

 

त्यसैगरी चैत पहिलो हप्ताभित्र सम्पर्क मञ्चको बैठक बोलाउन आग्रह गर्ने, जिल्ला पार्टी कमिटीका तोकिएका सदस्यहरु उक्त बैठकमा उपस्थित रहने र जिल्ला मातहतमा रहेका सदस्यसँग सम्पर्क समन्वय स्थापित गर्ने भनिएको छ।

 

गत निर्वाचनमा स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रबाट निकालिएका घोषणा पत्र चैत २० भित्र अध्ययन गर्ने, त्यसलाई आधार मानी पार्टीले विजय हासिल गरेका स्थानीय तहमा के कति काम भए त्यसको विस्तृत विवरण तयार गर्ने र त्यसको अडियो, भिडियो निर्माण गरी प्रचारमा लैजाने एमालेको कार्ययोजनामा उल्लेख छ।

 

स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएको स्थानीय तहहरुमा विपक्षी (निर्वाचित)हरुबाट भएका कमीकमजोरी के के हे? संकलन गरी उनीहरु माथिका आरोपहरु समेटी ३० चैतभित्र घोषणा प्रतिबद्धता पत्र तयार पार्ने प्रदेश कमिटीको योजना छ।

 

चैत मसान्तभित्र जिल्ला, स्थानीय तह, वडा र टोलसम्म निर्वाचन परिचालन कमिटी निर्माण गरी निर्वाचन परिचालनसम्बन्धी योजना बनाउने र ‘घर घरमा एमाले, मनमन एमाले’ नारासहित निर्वाचन अभियान घरघरसम्म लैजाने एमाले प्रदेश कमिटीको कार्ययोजना छ।

 

प्रदेश कमिटीको कार्ययोजनामा पार्टी कमिटीले तयार पारेका स्थानीय तहको उपलब्धीका प्रचार सामग्रीहरु (अडियो/भिडियो) सहितलाई आधार मानी आगामी निर्वाचनको घोषणा/प्रतिबद्धता पत्र तयार गरी प्रकाशन गरिसक्ने उल्लेख छ।

 

प्रदेश कमिटीको कार्ययोजनामा प्रत्येक पालिक र वडामा पहिलो, दोस्रो र तेस्रो पार्टी कुन हो ? शक्ति सन्तुलनको तस्बिर कस्तो छ ? तीन चरणमा वैशाख पहिलो साताभित्र आँकलन गर्ने उल्लेख छ।

 

त्यसैगरी कार्यगत एकताबारे पनि मूल्यांकन गर्ने उल्लेख छ। निर्वाचन तयारीमा घरदैलो प्रभावकारी बनाउने, सामाजिक सञ्जालको प्रयोग गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने उल्लेख छ। त्यसैगरी प्रतिद्वन्द्वीबाट सिर्जित भ्रमको खण्डन, आफ्ना अकाट्य प्रश्न र सूर्यका पक्षमा आम मनोविज्ञान बनाउने पनि प्रदेश कमिटीको कार्ययोजनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार