मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले एमालेको अवस्थाबारे रिपोर्टिङ गरेका छन्। निर्वाचनमा एक्लाएक्लै गए मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो हुने उनीहरुको रिपोर्टिङ छ ।

 

केन्द्रीय कमिटीको बुधवार सुरु भएको बैठकमा सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङले एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा देखिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

 

उनका अनुसार प्रदेश अध्यक्षबाट रिपोर्टिङका क्रममा प्रदेशको संगठनात्मक अवस्था, कमिटी अधिवेशन, पार्टीमा प्रदेशको स्थिति, अन्य दलसँगको शक्ति सन्तुलन र पार्टी प्रवेश अभियानबारे व्याख्या भएको छ।

 

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले रिपोर्टिङ गरेका थिए ।

 

रिपोर्टिङका आधारमा मधेश प्रदेशमा बाहेक अन्य ६ वटामा एमालेको अवस्था पहिलो रहेको जानकारी आएको प्रचार प्रमुख गुरुङले बताए । ‘प्रदेश १, बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको कुरा प्रदेश अध्यक्षहरूबाट आएको छ’, उनले भने, ‘मधेश प्रदेशमा राजनीतिक संक्रमणको अवस्था रहेकाले ठोस पोजिसन आएको छैन। त्यहाँ पार्टी प्रवेश अभियान व्यापक भइरहेकाले हाम्रो पोजिसनबारे प्रष्ट हुन केही समय लाग्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार