वाङको भ्रमणः चीनले वार्षिक अनुदान १५ अर्ब पुर्‍याउने, १० सम्झौतामा हस्ताक्षर हुने

उत्तरी छिमेकी चीनले नेपालका लागि वार्षिक अनुदान सहयोगमा वृद्धि गर्ने भएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा दस वटा सहमति/सम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता अन्तर्गत चीनले नेपाललाई वार्षिक अनुदान सहयोग बढाउन लागेको हो।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ। चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ। यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ। उक्त अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने भएको छ। सन् २०२० देखि २०२२ सम्म खर्च गर्ने सहमति भएको अनुदान सहयोग कार्यान्वयनका लागि दुई देशबीच औपचारिक सम्झौता हुन सकेको थिएन। नेपालले त्यसबारे चिनियाँ पक्षको ध्यानाकर्षण गरेको थियो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणमा केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गत प्राविधिक पक्षबारे एक सहमति पत्रमा हस्ताक्षर हुने भएको छ। नेपाल र चीनबीच यसअघि सन् २०१९ मा रेल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। भौतिक योजना मन्त्रालयका एक अधिकारीका अनुासर अहिले हुन लागेको सहमति पत्र सम्भाव्यता अध्ययनकै विस्तारित रुप हो।

 

वाङको भ्रमणमा उर्जा क्षेत्रमा पनि एक सहमति पत्रमा हस्ताक्षर हुनेछ। भ्रमण तयारीमा संलग्न अधिकारीहरुका अनुसार रातामाटे—केरुङ विद्युतीय प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमति पत्रमा हस्ताक्षर हुन लागेको हो। सन् २०१९ मा रातामाटे—केरुङ विद्युतीय प्रशारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। दुई वर्षभित्र सम्भाव्यता अध्ययन सक्ने भनिए पनि नसकिएका कारण अहिले फेरि नयाँ सहमतिपत्रमा हस्ताक्षर गर्न लागिएको उर्जा मन्त्रालयका एक अधिकारीले बताए।

 

अधिकारीहरुका अनुसार मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने एक सहमति पत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको छ। तातोपानी र रसुवागढी नाकाको स्तरोन्नतिका लागि चीनले सहयोग गर्ने विषयमा पनि भ्रमणमा छलफल हुने भएको छ। ती नाकाबाट आयात र निर्यात सहज बनाउन नेपालले चीनको ध्यानाकर्षण गराउने भएको छ।

भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ।प्रस्तावित समझदारी पत्र अनुसार चीनले भरतपुर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउनेछ।

 

स्रोतका अनुसार नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। गत मंसिर दोश्रो साता बसेको मन्त्रिपरिषद् बैठकले गाईवस्तुको आहारका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न एक प्रोटोकल स्वीकृत गरेको थियो।

 

स्रोतका अनुसार वाङले नेपालका विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन्।

 

पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम छ। चीनले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौतालाई अन्तिम रुप दिन चाहेको नेपाली पक्षलाई बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौताको मस्यौदा चिनियाँ पक्षसँग साटासाट भइसकेको छ।

 

‘तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उक्त सम्झौता हस्ताक्षर हुने सम्भावना कम छ,’ मन्त्रालयका एक अधिकारीले  भने। चिनियाँ पक्षले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन सम्झौताका लागि ताकेता गरे पनि परराष्ट्रमन्त्री डा. खड्काले सम्झौतालाई थप अध्ययन गर्न चाहेको बताइसकेका छन्। यसबाट चिनियाँ पक्ष असन्तुष्ट देखिएको अर्का एक अधिकारीले बताए।

 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका लागि आवश्यक तयारी पुरा भएको बताइन्। विगतमा चीनसँग भएका सहमति र सम्झौता कार्यान्वयनलाई गति दिनेबारे भ्रमणमा कुराकानी हुने प्रवक्ता लम्सालले बताइन्।

 

विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे विस्तृतमा छलफल हुने भएको छ। विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोली शुक्रबार, शनिबार र आइतबार तीन दिन नेपालमा रहने भएको छ।

 

परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन्। चिनियाँ टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका बरिष्ठ अधिकारी तथा पत्रकार गरी झन्डै २५ जना सहभागी रहनेछन्। चिनियाँ टोली नयाँ दिल्लीबाट अपरान्ह ६ बजे काठमाडौँ उत्रने भएको छ। चिनियाँ विदेशमन्त्रीले नयाँ दिल्लीमा शुक्रबार दिउँसो भारतीय समकक्षी एस जयशंकरसँग वार्ता गर्नेछन्।

 

वाङ नेतृत्वको चिनियाँ टोली सोमबारदेखि पाकिस्तान भ्रमणमा थियो। पाकिस्तानबाट वाङले अघोषित भ्रमणमा बिहीबार अफगानिस्तान पुगेर तालिबान अधिकारीसँग भेट गरेका थिए। उनी काबुलबाट सिधै नयाँ दिल्ली उत्रिएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको दिन शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।

 

शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा. खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ।

 

शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्नेछन्। आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो भेट्नेछन्। आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार