५ अर्ब डलरमा पृथ्वीमै बन्दै छ ‘मून’, ५ सय डलरमा चन्द्रसतहको अनुभव

अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्!

हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ।  यसको निर्माण लागत नै ५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ। यो काम मून वर्ल्ड रिसोर्ट्स इन्क (एमडब्लूआर) ले गर्दै छ। यो आर्किटेक्चरल डिजाइन तथा बौद्धिक सम्पत्तिको लाइन्सेन्स दिने क्यानडेली कम्पनी हो।

 

विलासिता र भव्य आतिथ्यदेखि सभा–सम्मेलन गर्नेसम्मका लागि ध्यान केन्द्रित गरी मूनको डिजाइन गरिएको छ। तर त्यहाँ एक मुख्य आकर्षण हुनेछ– नयाँ खोजका लागि एउटा चन्द्र सतह।

‘यो सुपथ मूल्यमा साँच्चै अन्तरिक्ष पर्यटनमा सहभागी हुन चाहनेलाई दृष्टिगत गरिएको छ’, एमडब्ल्यूआरका सहसंस्थापक माइकेल आर हेन्डरसनले भने, ‘मूनले वार्षिक २५ लाख अतिथि–अन्तरिक्षयात्रीलाई यसको चन्द्रसतहमा लैजानेछ। अन्तरिक्ष पर्यटन सुरु हुँदा मूनको टाइमिङ सही छ।’  ‘मून’मा प्रवेश निःशुल्क हुनेछ तर मुख्य अनुभवको लागि भने ५ सय डलर तिर्नुपर्नेछ।

‘लुनार कोलोनी’
यसभित्र १० एकडको ‘चन्द्र सतह’मा हुने ९० मिनेटको भ्रमणमा ‘एउटा आधिकारिक लुनार कोलोनीको काम’मा सहभागिता जनाउन पाइनेछ। ‘चन्द्र सतह’मा रहँदा अतिथिहरुले नयाँ खोजी गर्न पाउनेछन् र केही नयाँ भ्रमण गर्नेछन्।

 

हेन्डरसनका अनुसार यो बढाइचढाइ नगरिएको र भर्चुअल रियालिटीजस्तो पनि हुनेछैन। अतिथिहरुले साँच्चै चन्द्रमामै पुगेको अनुभव गर्न सक्ने उनको भनाइ छ।​

शटल चढाइको अनुभव

चन्द्र सतहसम्म पुग्न अतिथिहरुले शटलमा चढ्नुपर्नेछ। जसले भवनको भित्री गोलाइको क्षेत्रमा लैजानेछ।  अतिथिहरु शटलमा प्रवेश गर्नेबित्तिकै द्रुत मेडिकल परीक्षण हुनेछ, सेक्युरिटी स्क्रिनिङ गरिनेछ, अन्तरिक्ष सुट पहिराइनेछ। त्यसपछि सुरक्षा र नयाँ खोजीबारे छोटो ब्रिफिङ गराई आकर्षक शटल प्रणालीको यात्रा गराइने हेन्डरसनको भनाइ छ।

‘अतिथिहरुले लिफ्ट अफ (पृथ्वी छोडेजस्तो)को अनुभव लुट्नेछन् र चन्द्रमासम्मको यात्रा तय गर्नेछन्’, उनले भने। अतिथिलाई यो संसारबाहिरको अडियो–भिजुअल अनुभव प्रदान गर्ने उनी बताउँछन्।

यो परियोजना प्रसिद्ध क्यानडेली–अमेरिकी आर्किटेक्ट फ्रान्क गेरी र स्वर्गीय बेलायती आर्किटेक्ट रिचार्ड रोजर्सबाट प्रेरित भएर अघि सािरएको हो। गेरीले स्पेनस्थित उनको गुगेनहेम बिल्बाओ संग्रहालयका लागि प्रसिद्धि पाएका छन्।

 

‘मून विश्वकै ठूलो साँच्चैको गोलाकार भवन हुनेछ’, हेन्डरसन भन्छन्, ‘धेरै भवनहरु गोलाकार रहेको दाबी त गरिन्छ तर साँचोमा भन्दा तिनीहरु त्यस्ता लाग्ने भवन मात्र हुन्।’
एमडब्ल्यूआरले यसमा गेरीको गुगेनहेमजस्तै ‘बिल्बाओ प्रभाव’ रहने आशा गरे।

 

आकाशको चन्द्रमा जस्तै एमडब्ल्यूआरको ‘चन्द्रमा’ले पनि राति अविच्छिन्न रुपमा सेतो किरण छर्नेछ।

कहिलेसम्म खुल्ला?
मूनका लागि १२ महिनाको अग्रिम विकास योजना कार्यक्रम र निर्माणका लागि ४८ महिना चाहिनेछ। यदि २०२३ मा जग हालियो भने यो आगामी २०२७–०२८ तिर खुल्न सक्ने हेन्डरसन बताउँछन्।

 

यस्ता ‘मून’ चारवटा खोल्ने कम्पनीको योजना छ। यसअनुसार अमेरिका, यूएई, सिंगापुर र स्पेनलाई छानिएको छ। अमेरिकामा लास भेगास सहरलाई विकल्पको रुपमा राखिएको हेन्डरसनले बताए। (फोर्ब्सबाट भावानुवाद)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार