
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी गठबन्धन गर्दा मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै सूर्य चिन्हबाट चुनाव लड्ने निर्णय गरिएको बताएका छन्।
बुधबार एमालेसँग चुनावी तालमेलको सहमति गरेका थापाले सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गरेका थिए। आफ्नो पार्टीको ‘तीर’ चिन्ह हुँदाहुँदै हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीले कम्युनिस्टको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भनेर आलोचना भएपछि थापाले ‘सूर्य’ चिन्ह लिएर चुनाव लड्नुको कारण खुलाएका हुन्।
‘उमेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिन्ह रहन्छ। तालमेल भएको अवस्थामा दुवै चिन्हमा मत प्रयोग भई मत बदर हुने खतरा रहेकाले गरिएको हो,’ थापाले भनेका छन्।
चुनावअघि सहमति गरि साझा चिन्ह लिन सकिने र जितेपछि आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेकाले पनि सूर्य रोजिएको उनको भनाइ छ। स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि राप्रपा नेपालले एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको उनको प्रष्टीकरण छ।
‘राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताको कारण हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौँ,’ उनले भनेका छन्। राप्रपा नेपाललाई निर्वाचनले गाईको सट्टा तीर चिन्ह दिएको थियो। तर थापाले सूर्य चिन्ह रोजेका छन्।







