काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेता कोइरालाले कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुसी ल्याउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
‘नयाँ वर्षसँगै देशमा चुनावी माहोल तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन। हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई चुनावी वर्ष का रूपमा लिनु पर्नेछ।’ मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएकाले त्यसलाई पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्नुपर्ने उल्लेख गरेका छन्।
‘केन्द्र देखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन। हाम्रा विरोधीहरु बलिया छन् र संगठित पनि। तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ। म तपाईँहरूबाट यही अपेक्षा गर्दछु’ उनले भनेका छन्, ‘हामी बीचका मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला।’
पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने दाबी गरेका छन्। उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने उद्घोष गरेका छन्।
नेता कोइरालाले भनेका छन्, ‘प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो। म निर्वाचनको समयमा र पछि पनि तपाईँहरूको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने नै छु।’
इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको सारथी बन्न आग्रह गरेका छन्।