पृथ्वीबहादुर शाहका नाममा दुई वर्षदेखि लगातार आएको थियो रकम ! सीआईबीमा मुद्दा कायमै

काठमाडौं । अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याएर विवादमा तानिएका पृथ्वीबहादुर शाहको शंकास्पद रकमबारे नेपाल प्रहरीले दुई वर्षअघिदेखि नै अनुसन्धान थालेको खुलेको छ ।

 

त्यसबेलादेखि नै शंकास्पद रकम आएको पाइएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले भनेको थियो । राष्ट्र बैंकले लगातार शंकास्पद रकम आएको हुँदा नेपाल कालोसूचीमा पर्न सक्ने भन्दै उनीबाट आएको रकम कसका नाममा ट्रान्सफर हुँदैछ भन्नेबारेमा पनि अनुसन्धान गर्न भनेको थियो ।

 

केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकारीले दिएको जानकारीअनुसार उनीविरुद्धको अनुसन्धान अझै टुंगो लागेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनका विभिन्न खाताहरुमा विदेशबाट ५–६ करोड रुपैयाँ जम्मा भएको पाइएपछि अनुसन्धान थालेको थियो । उक्त अनुसन्धान अझै सकिएको छैन ।

 

उनै पृथ्वीबहादुर शाहको नाम पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मासँग जोडिँदै आएको छ । शाहको रकम छुटाउन अर्थमन्त्री शर्माले लिखित एवं मौखिक रुपमा राष्ट्र बैंकलाई बारम्बार निर्देशन दिएका थिए । तर, गभर्नर महाप्रसाद अधिकारीले अमेरिकाको नियामक निकायले पनि पत्राचार गरेको र नेपालमा पनि अनुसन्धान भइरहेको भन्दै पैसा निकाल्न दिएका थिएनन् ।

 

त्यसैको झोंकमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि सूचना चुहाएको, अर्थतन्त्र बिगार्न भूमिका खेलेको भन्दै अनुसन्धान समिति बनाउन प्रधानमन्त्रीलाई मनाएका थिए । सरकारले अध्ययन समिति बनाएका हाल गभर्नर अधिकारी निलम्बनमा छन् ।

 

अछामको दर्ना– ८ का स्थानीय बासिन्दा रहेका शाहमाथि अनुसन्धान गर्न राष्ट्र बैंकले सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीका एक अधिकारीले भने, “उनका खातामा शंकास्पद रकम आएपछि राष्ट्र बैंकले ब्युरोलाई पत्र लेखेको थियो । त्यसपछि हामीले अनुसन्धान सुरु गरेका थियौं । तर शाहले आफुले विभिन्न ट्राभल एजेन्सी चलाएको र कोरोनाका कारण रकम समयमा नआएको बताएका छन् । विदेशीले दिन बाँकी पैसा हो भनेका छन् ।”

 

तर शाहले सो रकम ट्राभल एजेन्सीकै हो भन्ने प्रमाण भने पेश गर्न नसकेको ती अधिकारीले बताए । सीआईबीका अधिकारीहरुका अनुसार पृथ्वीबहादुर शाह विरुद्धको अनुसन्धान टुङ्गिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार