अलपत्र विकासे पुलको काम जिउँका तिउँ

  प्रदीपचन्द्र राई

 

भोजपुर । संघीय संरचनापछि करौडौँ लागतका विकासे पुलका अवधारणा ल्याईए । ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहीले भोजपुरका पुल योजनाहरु वर्षाैदेखि अलपत्र छन् । तीमध्ये धेरै बन्दै छन्, धेरै रोकिएका छन्, केहि भत्किसकेका पनि छन् । उचित नियमन, अनुगमन नहुँदा ती योजनाहरु अझ बेबारिसे बनेको छ । धेरै पुलहरु बनिनसक्दै भत्किएका र बन्न बाँकी छन् । पुल विकासमा देखिएको व्यथिती सर्वसाधरण नागरिकले चरम सास्ती खेप्नु परेको छ ।
ठेकेदार कम्पनीको कमजोरीले गत मंसिर ११ गते हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित ५ करोडको पुल निर्माण क्रममै भत्कियो । प्रदेश १ सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगबाट बनेको उक्त पुल अहिले पनि सोहि हालमै छ । निर्माण सामाग्री नै गुणस्तरहीन भएको प्राविधिक अनुगमनले देखाएको छ । ४५ मिटर लम्बाई र ६ मिटर चौडाई रहनेगरि निर्माण भईरहेको उक्त पुलको संरचना भत्किएको हो ।
डिजाइन अवधि ८० वर्ष र भूकम्प प्रतिरोधी रहने भनिएपनि पुल निर्माण क्रममै ढलेपछि ठेकेदार कम्पनीको चरम लापारबाही भएको हतुवागढीका स्थानीय ईन्द्र थापाले बताए । पुल निर्माणले सदरमुकामबाट दक्षिण हुँदै तराईसंग सिधा जोड्नाले सहज पहुँच पुग्ने भएपनि पुलको दुर्दशाले निराशा थपिदिएको उनले बताए । भने, ‘नाफामुखी योजना बन्नाले हामी जस्ता नागरिकको सपना पुरा हुँदैन, चरम लापारबाहीले पुल भत्कियो’
पिलर खण्ड र आइरन ट्रस्ट गरी फरकफरक टेण्डरमा निर्माणाधिन उक्त पुलको निर्माण कार्यमा केहि कमी आएका कारण भत्किएको हुनसक्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्राविधिक रुपेश देवले बताए । मापदण्ड अनुरुप नै विभिन्न चरणमा थालिएको निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग भईरहेको उनले बताए । उनका अनुसार चाँडै पुनः निर्माणको काम अघि बढ्ने बताईएको छ ।
त्यस्तै ठेकेदारले विचैमा अलपत्र पारेको भोजपुर संखुवासभा जोड्ने लम्सुवाघाटको पुलको हविगत पनि विगत ११ वर्षदेखि त्यहि छ । पुल नहुँदा साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका ७० हजार नागरिक चरम सास्ती खेप्न बाध्य छन् ।
पुनःडिजाईन अनुसार उक्त पुलमा ४ वटा पायर (पिलर) १६ मिटर गहिराईसम्म गाडीनुपर्ने प्रावधान भएपनि ३ बर्ष अघि विचैमा काम छाडेर ठेकेदार हिँडेपछि पुल निर्माण अलपत्र बनेको थियो । पछि २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने एक सय ६७ मिटर लामो पुलमा ६ वटा पिल्लर उठाएपछि पुनः काम रोकयो । सडक विभागको वेवास्ता र ठेकेदारको लापारबाहीले पुलको काम अलपत्र बनेपछि पटकपटक नगरपालिका र प्रदेश, संघिय सरकारसम्म कुरा उठाएपनि ठोस निर्णय नआएको ७ नम्बर वडाका वडाअध्यक्ष बुद्धसिं तामाङले बताए । भने, ‘पटकपटक ताकेता गरेपनि काम सुरु गर्ने सुरसार छैन, जनताको हामीप्रतिको विश्वास पनि कम हुने देखिन्छ, सँधै सास्ती लिनुपर्ने विडम्बना छ’
केहि साताअघि मात्र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पनि एक कार्यक्रमका विच पुल निर्माणको कामलाई प्रदेश सरकारले अघि बढाउने प्रतिबद्धता जनाएका थिए । त्यस्तै सुचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि पुलको काम अघि बढाउन पहल गरिने बताएका थिए । पुलको पुनः डिजाईनपछि निर्माण खर्च समेत १६ करोड ६३ लाख पुगेको छ । उक्त पुलको थप डिजाईनपछि पुलको लम्बाई २ सय ४७ मिटरको पुल बन्ने भएपनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारले जनाएको छ ।
हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका क्षेत्रका केहि ठुला पुलहरुको काम चलिरहेको छ । प्रदेश सरकारको कुल २१ करोड २३ लाख लागतको दुधकोशी जोड्ने पुलको काम भईरहेको छ । सुरुमा उक्त पुलका लागि तीन पटक बोलपत्र खुलाईएपनि कुनै पनि बोलपत्र नआएपछि ढिलाई भएको थियो । भोजपुरमा प्रदेश १ सरकारको पूर्ण लागतमा आठ र प्रदेश सरकारको पहल तथा स्विस सरकारको अनुदान सहयोगमा दुई गरी १० ओटा पुल निर्माणाधिन अवस्थामा छन् । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने तयारी रहेको पूर्वाधार विकास कार्यालय भोजपुुरले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार