भोजपुरमा तीव्ररूपमा विस्तार हुँदै विद्युत्

भोजपुर : जिल्लाका सर्वसाधारणले विद्युत् सेवा उपभोग गर्न थालेको चार दशक पुग्यो। २०३८ सालमा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गरेका थिए।

 

२५० किलोवाट क्षमताको जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् गृह तत्कालीन माओवादी विद्राहीले भत्काएपछि लामो सयम भोजपुर अन्धकारमय समेत बनेको थियो। यहाँ योबाहेक विद्युतको विकल्प पनि थिएन।

 

मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचे अनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो। त्यो अवधिमा छिटफुट रूपमा पेल्टीसेट, स–साना विद्युत् आयोजना सञ्चालन थिए। ग्रामीण भेगका अधिकांश स्थानीयले  सोलार सेट, टुकी बत्ती, दियालो बालेर  जीवन चलाउँदै आएको अवस्था देखिन्छ। भोजपुरको इतिहास बोकेको सो विद्युत् गृह भने बन्द छ।

 

२०६७ कात्तिक १९  देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५०.३३ प्रतिशत जनता मात्र लाभान्वित छन्। हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको छ। काममा ढिलाइ हुँदा विद्युत् प्राधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट छन्।

 

केन्द्रीय प्रसारण लाइन यहाँका प्राय सबै स्थानीयतहमा पुर्‍याउने प्रयास भइरहेको छ। पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन।  सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशतले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन्। यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ।

दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ। यी दुई स्थानीय तहमा पनि पूर्णरूपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ। केहीले स्थानीय स्तरका साना जलविद्युत् तथा सोलार प्रयोग गरिरहेका छन्।

 

भोजपुरमा पनि जलविद्युत्को क्षेत्रमा लगानी बढिरहेको छ। इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारणलाईनमा जोडिएको छ।  इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी  दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ। यी  विद्युत् गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।

 

उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन्। ४.७ मेगावाटको अपर चिर्खुवाको काम ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ। यसको पाइपलाइन तीन किलोमिटर  छ।  त्यस्तै ४.६ मेगावाटको लोअर इर्खुवाको पनि काम शुरु हुने चरणमा  छ।

त्यस्तै जिल्लाको सबै भन्दा ठुलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तीव्र गतिमा भइरहेको छ। १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघि शुरु भएको हो। २.५ किलोमिटर पाइप लाइन भएको यो आयोजनाको २.३ किलोमिटर पाइपलाइन सुरुङ छ।

 

सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ता बताउँछन्। त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिकाको सिमनामा पर्ने श्यामखोलाबाट पनि ७ मेगावाट क्षमताको विद्युत आयोजना सञ्चालनको तयारी भइरहेको छ।

 

यीबाहेक जिल्लामा साना-ठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत् क्षेत्रमा काम गर्दै आएका कम्पनीले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार