अर्थमन्त्री शर्माको बर्खास्ती गर्न एमालेको बटमलाईन

 

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्ती गर्नु नै पार्टीको बटमलाइन रहेको बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अर्थमन्त्रीसँग सम्बन्धित कुनै पनि छलफलमा सहभागी नहुने बताएका हुन् ।
उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गर्नुभएको छ । हामीले संसदमा निरन्तर अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएका छौं । बजेट निर्माणको अघिल्लो रातको सीसीटिभिको फुटेज मागेका छौं। हामी उहाँको बर्खास्त नभएसम्म कुनै संवाद र छलफलमा भाग लिदैनौं। हाम्रो बटमलाइन अर्थमन्त्री शर्माको बर्खास्त हो ।’
उनले सदनमा प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेकाले अर्थमन्त्री प्रकरणमा कसैसँग छलफल र संवाद गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट पारे । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गरेको बेलाको सीसीटीभी फुटेज ‘मेटिए’पछि सरकार थप आलोचित बनेको हो । सत्तारुढ दलकै नेताहरुले पनि अर्थमन्त्रीको राजीनामा मागेका छन् ।
अर्थमन्त्री शर्माले पूर्वनासु रघुनाथ घिमिरे र व्यापारिक घरानाका एक ‘फाइनान्स डाइरेक्टर’लाई जेठ १४ गते मध्यराति मन्त्रालयमा प्रवेश गराएर बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन प्रयोग गरेका थिए । सीसीटीभी फुटेज उपभोक्ता हित संरक्षण मञ्चले माग गर्दा अर्थ मन्त्रालयले १३ दिनमै मेटिएको जवाफ दिएको थियो ।
मन्त्रालयको जवाफले अनधिकृत व्यक्तिको प्रवेशलाई पुष्टि गरेको भन्दै अर्थमन्त्री शर्मामाथि राजीनामा दिन र छानबिन गर्न चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवाले समेत तत्काल राजीनामा दिन र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार