
भोजपुर । प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै किरात राई यायोक्खा (किराया) भोजपुरले बिहिबार एक घण्टा चक्काजाम गरेको छ । केन्द्रको कार्यक्रम अन्र्तगत माझ किरातले चिनिने भोजपुरमा पनि चक्काजाम गरिएको यायोक्खाले जनाएको छ ।
किरात प्रदेशको नामाकरणका लागि यायोख्खाले चरणबद्ध आन्दोलन गर्दै जाने किरात राई यायोक्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताईन । ’किरात प्रदेश नामाकरण गर्नुपर्ने हाम्रो माग हो, पुरा नभए सम्म आन्दोलन रोकिने छैन ।’ उनले भनिन् । पहिचान र सभ्यताका आधारमा प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गर्नुपर्ने माग जायज रहेको उनले बताईन् ।
भोजपुर सदरमुकामको देउरालीस्थित गरिएको चक्काजाम कार्यक्रमलाई सम्बोधन गर्दै किराया भोजपुरका सचिव बिदुर राईले यायोक्खाको माग सम्बोधन नभए जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए । सचिव राईले आफुहरुको आन्दोलनलाई सामान्य रुपमा लिए त्यस्को महगो मुुल्य चुकाउनु पर्ने समेत चेतावनी दिए । चक्काजामका कारण सयाँैको संख्यामा यात्रुबस, ट्याक्सी लगायतका सवारीसाधन रोकिएका थिए ।










