
भोजपुर । गत माघ १३ गते प्रहरीले भोजपुरबाट धरानतिर जादै गरेको दुईवटा मालबाहक ट्रकमा २ सय ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गर्यो । ट्रकसहित पक्राउ परेका चालक मोरङ केराबारी बस्ने २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका– ५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई आवश्यक कारबाही गरि जेलचलान भए ।
राजमार्गको पहुँच सहज भएसंगै भोजपुरमा विभिन्न माध्यमबाट लागू औषधि लुकिछिपी ओसारप्रसार हुन थालेको हो । जसले युवापुस्ता लागू औषधको शिकार बन्न थालेका छन् । बढ्दो शहरीकरण, जनचेतनाको कमीले युवापुस्ता लागूऔषधको दुव्र्यसनीमा फस्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय भोजपुरमा लागूऔषध ओसारप्रसार र दुव्यर्सनी बढ्दै गएको छ । राजमार्गको पहुँच सहज भएसंगै भोजपुरमा विभिन्न माध्यमबाट लागू औषधि लुकिछिपी ओसारप्रसार हुन थालेको हो । जसले युवापुस्ता लागू औषधको शिकार बन्न थालेका छन् ।
बढ्दो शहरीकरण, जनचेतनाको कमीले युवापुस्ता लागूऔषधको दुव्र्यसनीमा फस्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । विशेषगरि शहरी क्षेत्रमा युवाहरु लुकीछिपी दुव्र्यसनीतर्फ उन्मुख भएको प्रहरीले जनाएको छ । असार मशान्तसम्म भोजपुरमा २ सय ग्राम खैरो हिरोइन सहित ४ जनालाई नियन्त्रणमा लिई कारबाही गरिसकेको छ । यसबाहेक लागूऔषध सेवन गर्दैगरेको अवस्थामा विभिन्न स्थानबाट फेला परेका २० जना युवालाई प्रहरी आवश्यक परामर्श दिएर अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
पारिवारीक निगरानी र उचित मार्गदर्शन नहुनाले पनि युवापिँढी यसको शिकार बनेको युवा अगुवा अर्जुन राईले बताए । भने, ’परिवारको उचित रेखदेख, शिक्षा र सहि मार्गनिर्देशन नहुँदा युवाहरु दुव्र्यसनी र कुलतबाट शिकार बन्दै गएका छन्’ पारिवारीक वेवास्ता, कुलतमा फसेका साथिसंगीको संगतका कारण पनि युवावर्ग लागूऔषधमा फस्दै गएको उनी बताउँछन् ।
विशेषगरि गाँजा र हिरोइनको बढि प्रयोग र ओसारप्रसार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले गतवर्ष मात्रै करिब ६ सय १५ रोपनीमा लगाईएको गाँजा नष्ट गरेको थियो । विशेषगरि भोजपुरको हतुवागढी गाउँपालिकाको हसनपुर लगायतका क्षेत्रमा अवैध रुपमा गाँजा खेती हुने गरेको नितेश कुमार सिंहले जानकारी दिए ।
पछिल्लो समय राजमार्गको पहुँचका कारण लागूऔषध जस्ता अपराधमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए । सडकको पहुँचले मुख्य नाकाहरुबाट लागूऔषध भित्रिने हुँदा यसको ओसारप्रसार र सेवन जस्ता आपराधिक गतिविधी बढेको उनले बताए । ’भोजपुर जस्तो पहाडी इलाकामा मुख्य नाकासंग सडकसञ्जाल जोडिनाले पनि यस्तो गतिविधीमा वृद्धि भएको हो, यसको रोकथामका लागि हामीले प्रहरी कारबाही र सचेतनामूलक कार्यक्रम अभियान तीव्र रुपमा चलाएका छौँ’ डिएसपी राईले भने ।
लागूऔषध दुव्र्यसनी न्यूनिकरण र समाधानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न समयमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । प्रहरीले विशेषगरि स्थानीय तह, संघसंस्था र सामुदायिक तथा निजी विद्यालयहरुको समन्वयमा सचेतनामूलक अभियान चलाएको छ । यो वर्षमात्रै प्रहरीले १० वटा सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।








