
लन्डन । संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिन्छ । बेलायतमा पनि आइतवार विभिन्न कार्यक्रमहरुको आयोजना गरेर २८ औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाइयो ।
नेपाल आदिवासी जनजाति महासंघ बेलायतको आयोजनामा अल्डरसर्टस्थित आदिवासी दिवस भब्य रुपमा मनाए । दिवसमा आदिवासी जनजाति महासंघ आवद्ध जातिय संघसंस्था र बेलायतमा क्रियाशिल नेपाली संघसंस्थाहरुको उपस्थिती रहेको थियो । दिवसमा भर्खरै सगरमाथा आरोहण गरेकी नायिका दीया पुनलाई सम्मान गरिएको थियो । पुनलाई आदिवासी जनजाति महासंघ बेलायत र गोर्खा भूपूजन्य संघसंस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका थिए ।
दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । दिवसकै अवसरमा नेपालदेखि बेलायत आएका कलाकारहरुलाई समेत सम्मान गरिएको थियो । दिवसमा विभिन्न जातजातिहरुको झाँकी पनि प्रदर्शन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ बेलायतले यसपटक दिवसलाई आन्दोलनका रुपमा मनाएका थिए । आदिवासी जनजाति समुदायले परम्परागत साँस्कृतिक पोशाक लगाएर झाँकीहरु प्रर्दशन गरेका थिए । दिवसमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहेका थिए भने बेलायतमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा थिए । नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव विमला सेनेले गरेकी थिइन । कार्यक्रममा स्वागत मन्तब्य आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष शान्तकला राईले राखेकी थिइन ।


































