
भोजपुर । जातीय पहिचान झल्काउने बहुप्रतिष्ठित किरात राई यायोक्खा भोजपुुरको ‘माङ्खिम् भवन’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन लक्ष्यका साथ संग्राहलय भवनको काम सकिन लागेको हो ।
पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर्न सहज हुने भएको छ ।
संग्राहलय सहितको उक्त भवन निर्माणले किरात राई समुदायको सँस्कृतिलाई जगेर्ना गर्न सहयोग पुग्ने किरात राई अगुवाहरु सुनाउँछन् । किराती संस्कारको प्रतिबिम्ब रहने जातीय पहिचानलाई पुस्तान्तरण गर्दै लैजाने स्थानीय जितप्रसाद राईको बझाई छ । भने, ‘हाम्रो जाती, हाम्रो सँस्कार लोप हुँदै गईरहेका छन्, ती महत्वपूर्ण हाम्रा पहिचान बोक्ने सम्पदा र पुरातात्विक बस्तुहरुको जगेर्ना गरेर अन्य समुदायलाई पनि जानकारी बोध गराउनु संग्राहलय निर्माणको लक्ष्य हो ।’
पर्यटकीय संग्राहलयसहितको उक्त भवनमा किरात राई समुदायको जातीय गतिविधी गराउन पनि सहज हुने अर्का स्थानीय कुमार विक्रम राई बताउँछन् । पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर्न सहज हुने भएको उनले बताए ।
४ रोपनी क्षेत्रफलमा भौतिक पूर्वाधार निर्माण अन्र्तगत प्रदेश सरकारको ३ करोड १७ लाख बजेटमा भोजपुर नगरपालिका ६, देउरालीमा निर्माणाधिन किरात राई यायोक्खाको उक्त भवनको ९० प्रतिशत काम सकिएको छ । किराती पहिचान र सभ्यता झल्काउने संग्राहलयसंगै कार्यालय, सभाहल, ‘वाबुक’ स्मारक, पार्किङसहितको सुविधा हुनेगरि काम भईरहेको किरात यायोक्खा भोजपुरका सचिव विदुर राई बताउँछन् ।
यसअघि भवन अभावमा सामान्य गोष्ठि, सेमिनार लगायत सार्वजनिक साँस्कृतिक गतिविधी गर्न समस्या हुँदै आएको थियो । तर संग्राहलयसहितको उक्त भौतिक पूर्वाधार निर्माणले साँस्कृतिक पर्यटनलाई जोड दिनका लागि पनि किराती प्राचिन सभ्यता झल्कने संग्राहलयसहितको उक्त भवन निर्माण थालिएको किरात राई यायोक्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताईन् ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि भोजपुरको पर्यटकीय गन्तव्यमध्ये साँस्कृतिक जातीय पहिचानको आकर्षण थप्नका लागि पनि भवन निर्माण गरिएको किराया भोजपुरले जनाएको छ । वार्षिक कार्यक्रमहरु, आवश्यक श्रोत साधनका साथै भेला तथा बैठक आयोजना गर्न अन्यत्र जानुपर्ने समस्या समाधान हुने अपेक्षा लिईएको छ । पछिल्लो समय भोजपुरमा ७२ प्रतिशतभन्दा बढि किरात राईहरुको बाहुल्यता रहेको भोजपुरमा पछिल्लो समय जातीय पहिचानवादी विकासे गतिविधीमा तीव्रता आएको छ ।