
भोजपुर । आसन्न प्रतिनिधीसभा सदस्यको चुनावका लागि भोजपुरबाट शेरधन राई र सुदन किराती तेश्रो पटक चुनावी मैदानमा उत्रन्दैछन् । पुराना प्रतिस्पर्धी रहेका शेरधन र सुदनविच विगतको तुलनामा यसपटक चुनावी रस्साकस्सी देखिएको छ ।
प्रतिनिधीसभाका लागि एकमात्र क्षेत्र रहेको भोजपुरमा योपटक नेकपा (एमाले)बाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदनको उम्मेदवारी परेको हो । यसअघि २०६४ सालमा संघको निर्वाचनमा माओवादीका सुदन किराँतीले तात्कालिन भोजपुर क्षेत्र नं २ मा शेरधनलाई पराजित गरेका थिए ।
त्यस्तै एमालेका शेरधनले पनि २०७० सालमा क्षेत्र नं २ मै सुदनलाई पराजित गरे । पछि २०७४ मा बामगठबन्धनका कारण भने यी दुईबीचको भिडन्त टर्यो । नेकपा एमाले र नेकपा माओवादीकोबीच गठबन्धन भएपछि मुख्यमन्त्रीको आश्वासनसहित शेरधनलाई प्रदेशमा र सुदन प्रतिनिधिसभामा प्रतिस्पर्धा गरे । २०७४ मा प्रतिनिधीसभामा माओवादी केन्द्रबाट सुदन चुनाव लडिरहँदा प्रदेशसभा क्षेत्र नं १ मा एमालेबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा क्षेत्र नं २ मा शेरधनले चुनाव लडे । निर्वाचित पनि भए । शेरधन र सुदनबीचको तेस्रो चुनावी प्रतिस्पर्धा हुँदा मुख्यमन्त्री राजेन्द्र भने सत्तागठबन्धनबाट प्रदेशसभा क्षेत्र नं १ का लागि चुनाव लड्दैछन् ।
पुरानै चुनावी भेट भएपनि नयाँ परिवेश लिएर चुनाव प्रतिस्पर्धा हुने एमालेका शेरधनले बताए । ‘सुदनजिसंग मेरो यो भेट २०६४ देखि नै हो, चुनावी मैदानमै फेरि पनि छौँ, जनताको मतले दुईमध्ये कसलाई प्रतिनिधी चुनेर लान्छ हेर्दै जाउँ’ शेरधनले भने । माओवादीका सुदन किराती तेस्रो प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिएको बताए । भने, ‘यो लडाइँ हो, यसमा केही सम्भावना पनि छ, केही चुनौती पनि छ,’
चौथोपटक सांसद बन्ने दौडमा रहेका शेरधन प्रदेश १ का मुख्यमन्त्री र केन्द्रमा सूचना, संचार तथा प्रविधि मन्त्री बनिसकेका छन् । तर सुदन भने दुईपटक सांसद भएपनि मन्त्री बन्न सकेका छैनन् । तर योपटक सांसद जितेर संघीय मन्त्री बन्ने उनको चाहना छ ।






