
लन्डन । विशेष अधिवेशनको नामबाट केही व्यक्ति र समुहहरुले संस्था फुटाएको भन्दै गैर–आवासीय नेपाली संघ(एनआरएन) बेलायतले गम्भिर आपत्ती जनाएको छ । विहिवार एक बक्तब्य जारी गर्दै संघले केही व्यक्तिहरुको भेलाबाट अधिवेशनको नाममा संस्था फुटाएको भन्दै आपत्ती जनाएका हुन ।
संघका उपाध्यक्ष तथा प्रबक्ता भरतमणी चोङबाङले प्रेस बक्तब्य जारी गर्दै महाधिवेशनबाट निर्वाचित समितिको कार्यकाल बाँकी रहदै आर्थिक घोटलामा संलग्न व्यक्तिहरुले घोटलालाई ढाकछोप गर्न अधिवेशनको नामममा संस्था फुटाएको जनाएको छ ।
कार्यसमिति भित्र र बाहिरका व्यक्तिहरूले पद लोलुपतामा कोठे भेलाबाट अधिवेशनको नाम दिएर पदको स्वघोषणा गर्दै संस्था फुटाउनुको साथै अवान्छित क्रियाकलापहरू गरेको आरोप पनि लगाएका छन ।
निर्वाचित कार्यसमिति या अध्यक्षलाई हटाउनु परे अर्को महाधिवेशन या बिशेष परिस्थितीको प्रतिकुल समयमा बिशेष महाधिबेशनले मात्रै हटाउन सक्ने भएपनि आर्थिक घोटलामा संलग्न भएका र पदका लालसामा परेकाहरुले संस्था फुटाएको बक्तब्यमा उल्लेख गरिएको छ ।
अध्यक्ष बिरूद्व अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्ने र अध्यक्ष पदमुक्त भएको भनेर नक्कली पत्र बनाएर झुटा प्रचार गरी समाजमा अफवाह फैलाउने काम भएको पनि विज्ञप्तीमार्फत जनाएको छ । संघद्धारा जारी गरिएको विज्ञप्तीमा नक्कली पत्रकै आधारमा आर्थिक घोटलामा संलग्न भई बर्खास्त भएका उपाध्यक्ष सुनिलबाबु खडकाले घोटलालाई ढाकछोप गर्न कोठे बैठकमा बसेर महाधिवेशनको प्रपञ्च रचेको उल्लेख छ ।
प्रेम गाहामगरसंग अध्यक्षमा पराजित भएका दीपक श्रेष्ठ आफै उपाध्यक्षको घोषणा गर्नु जनमतको खिल्ली उडाउएको जनाएको छ ।
अध्यक्ष पदमुक्त भयो भनेर नक्कली कागज बनाएर संस्था कब्जा गर्न खोजेको समेत आरोप लगाइएको छ । अबैधानिक तवरले संस्था कब्जा गर्न खोज्नेहरुसंग कानुनी लडाई लडने समेत बताएका छन । अध्यक्ष पदमुक्त भएको भनी समाजमा भ्रम फैलाउनेका निम्ति बर्तमान आईसीसीका अध्यक्ष रविना थापाको भनाई प्रष्टसंग बुझनका लागि विज्ञप्तीमार्फत आग्रह गरेका छन । प्रेम गाहामगरलाई पदमुक्त नभएको, एनसीसी खारेजी र पदमुक्त गर्ने आईसीसीसंग अधिकार नभएको भन्ने रविना थापाको अभिब्यक्ति महाधिवशनबाट निर्वाचित अध्यक्षमाथि कसैले हटाउन र पदमुक्त गर्न नसक्ने भन्ने विज्ञप्तीमार्फत स्पष्ट पारेका छन ।
एनआरएनए फुटाएर समाजमा भ्रम फैलाउने काम भएको र त्यस्तो भ्रममा नपर्नका लागि सम्पुर्ण बेलायतबासीहरुलाई विज्ञप्ती मार्फत आग्रह गरेका छन । केही सञ्चारमाध्यमहरूले कानुनी र बैधानिक रूपमा आधिकारिक नभएका व्यक्तिहरूद्वारा स्वघोषित प्रचारलाई समेत समाचार बनाएर भ्रम फैलाउने काम गरेको भन्दै स्वच्छ पत्रकारिताको धर्म र भुमिकालाई निर्वाह गर्नका लागि आग्रह गरेका छन ।







