भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

लण्डन। बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन्।

 

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो। लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन्। मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो। साथै उनको कार्यकालमा बेलाइतको मुद्रा अवमूल्यन भएको थियो ।

 

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए। तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए। ।

 

नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन्। उनी हिन्दु धर्मावलम्बी हुन्। अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन्।

 

सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुन्। जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्। उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे। उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।

 

स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। यी दम्पतीका दुई छोरीहरू छन् ।

 

सन्  २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे। पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ। द टाइम्स पत्रिकाका अनुसार उनी “२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी” बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्। उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।

 

प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैधताका प्रश्नहरू सामना गर्नेछन्। ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ। उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ। विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्। फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने। त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।

 

२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे। सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन “जेसुकै गर्ने” वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे। त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्‍यायो। तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्‌ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो। जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए। गत वर्ष एप्रिलमा सुनक र उनको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उनकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए आफ्ना श्रीमान्‌माथि राजनीतिक दबाव बढेपछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार