एनआरएनए युकेलाई नाटकीय शैलीमा बदनामै गरिदैछ

१९ बर्षको अन्तरालसम्म पनि एनआरएनएले बेलायतमा बस्ने समग्र नेपालीहरुको मन किन जित्न सकेन ? यसको गहन प्रश्न हामीवीच उब्जिएको छ । स्थापनाकालदेखि अहिलसम्मका कार्यकालमा रहेको कार्यसमितिहरु यसबाट किन अछुतो रहन सकेन, यी र यस्ता गम्भिर प्रश्नहरु अझै अनुउत्तरित छ । तर यसबारे कार्यसमितिमा बस्नेहरुले गहन भएर नसोचेका कारण एनआरएनएभित्र पटक पटक प्रश्नहरु आइरहन्छ ।

 

एनआरएनएनलाई साझा र गतिशिल बनाउनको सट्टा आफ्नो स्वार्थ र सानो समुह निमार्ण गरेर आफैमा उल्झन पैदा गरेर रुमालिरहेको छ । संस्थालाई बलियो र मजबुत बनाउनुका सट्टा आन्तरिक समस्या निमार्ण गरी स्वार्थ केन्द्रित र व्यक्तिवादी सोचलाई बढवा दिएर कमजोर बनाउने काममा सदैव उद्यत रहयो । कार्यसमिति रहदाँ ठालु हुने, आर्थिक अपारदर्शीता, राजनीतिक चलखेल र राजनीतिक झोले बन्ने प्रवृति हावी भएकै कारणले एनआरएनए युके आन्तिरक समस्याबाट थला पर्दै आएको छ । दलीय गुटवन्दी र त्यसैको आधारमा पावर देखाउने प्रवृति भएका झुण्डहरुले जहिले पनि एनआरएनएलाई आफ्नो मुठ्ठीमा पारेकोले संस्था साझा बन्न नसकेको पक्कै हो ।

 

प्रजातन्त्रको जननी बेलायतमा रहेर हामी नेपालीहरुले राम्रो पाठहरु अझै सिक्न सकेनौं । हामीले हिजोको सोच, विचार र व्यवहारहरुलाई अझै त्याग्न सकेनौ । हिजोका हाम्रो प्रवृतिहरुलाई नै बेलायतमा रहेर पनि अंगालिरहेका छौं । जसबाट एनआरएनएभित्र आपसी रुपमा जुटेर नभई फुटने, गुटवन्दी गर्ने जस्ता विकृतिहरुलाई बढवा दिइरहेका छौं । जसरी नेपालमा आफ्ना आसेपासे, नातेदार र कार्यकर्ताहरुलाई ठेक्कापट्टा दिने जस्ता विकृत संस्कृतिको निमार्ण गरिएको छ, त्यसरी नै एनआरएनए युकेमा पनि समुह निमार्ण गरी गुटवन्दी गर्ने र स्वार्थपुर्ति गर्ने कु–संस्कृतको विकास गरिरहेका छौं ।

 

एनआरएनए आइसीसीको बैठकले अधिवेशन गराउने म्यान्डेड पुर्व अध्यक्ष शेष घलेलाई जिम्मेवारी दिएको थियो । आइसीसीको म्यान्डेन अनुसार अधिवेशन गराउने जिम्मेवारी पाएका शेष घलेले अधिवेशन गराए । निर्वाचनमा हार्ने डरले कुमार पन्त समुहले अधिवेशन नै बहिष्कार गरेर राजनीतिक पहुँचको आधारमा नेपाल सरकारको पराराष्ट्र मन्त्रालयबाट तीन जना अध्यक्ष रहने गरी विधान नै संशोधन गराएर अर्को अधिवशेन गराए । राजनीतिक भागबन्डामा तीन अध्यक्ष बनाइए । जसबाट एनआरएनएमा विभाजनको वीउ रोप्ने काम भयो ।

 

अहिले युकेमा पनि ११ हजार ३ सय ६३ पञ्जिकृत सदस्यहरुबाट निर्वाचित भएका एनसीसीलाई छिन्न भिन्न बनाएर अर्को एनआरएनए खडा गरेर विभाजनको रेखा कोरेका छन । यस्तो अवस्थामा एनआरएनएका सदस्य हो भनेर भन्नु पनि लज्जित बनाएको छ । भविष्यमा के को आधारमा सदस्यहरु विस्तार गर्ने यसले गम्भिर बनाएको छ ।

 

विशुद्ध एनआरएनए संस्था बनाएर यो कर्म भुमिमा रहेको नेपालीहरुको हकहितका लागि काम गर्नुपर्ने हो । यहाँका सीप कला र प्रणालीहरुलाई नेपालमा लाने र त्यहाँका राजनीतिक नेतृत्वहरुलाई सिकाउनुपर्ने बेलामा उनीहरुकै झोले भएर यहाँको एनआरएनएमा विभाजन ल्याउने काम क्षम्य छैन ।

 

लक्ष्य उद्देश्यसहित चलिरहेको एनआरएनलाई विभिन्न बाधा व्यवधान खडा गरेर नैतिक पतन गराउने खेल गरियो । अध्यक्ष प्रेम गाहा मगरले हामीले भनेको मानेन भनेर पदमुक्त भयो भन्ने जस्ता भ्रम फैलाएर केही स्वार्थ समुहहरु धमिलो पानीमा माछा मार्ने जस्ता काम गरे । यसको पछाडीको सम्पर्ण खेल एनसीसी युकेमा विभाजन सिर्जना गर्ने आइसीसीका ६ महिने म्यादी अध्यक्ष बनेका कुल आचार्यले गरे ।

 

अहिले एनआरएनए युके अस्तित्वको रक्षामा छ । जनता र पञ्जिकृत सदस्यहरुले दिएको म्यान्डेडको आधारमा प्रेम गाहामगर अध्यक्ष रहेको घामजस्तै छलंङगै छ । तर एउटा स्वार्थ समुहले छुट्टै समुह बनाएर एनआरएनए फुटाउने काम गरेको छ । यस्ता गलत गर्नेहरुलाई इतिहासले निर्मम समिक्षा गर्ने नै छ । हामी बेलायतबासी आमा नेपाली जनसमुदायहरुले पनि सोच्ने बेला आएको छ ।

 

नेतृत्वको हैसियतले प्रेम गाहा मगरले मुलत : दोहोरो नागरिकता, गोर्खाको अधिकार र आवाजलाई बुलन्द बनाई राखेको छ । संस्थागत विकासका कामहरुलाई गरिरहेको छ । स्थापनाकालदेखि सम्पर्क कार्यालय समेत नभई रहेको अवस्थामा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनु संस्थाको दिगो विकास र हितमा रहेको छ । यसरी एनआरएनएको हित र सुधारका लागि उपलब्धीमुलक कामहरु भईरहँदा स्वार्थ समुहले संस्था फुटाउने काम गर्नु नियतलाई प्रष्टै पारेको छ । त्यसैले त्यस्ता समुहहरुसंग सजग रहेर समग्र एनआरएनएको सुधारमा हामी लाग्नुपर्ने जरुरी देखिएको छ ।

लेखक एनआरएनए राज्य समन्वय परिषद वेल्स यूकेका उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार