भोजपुरमा शान्तिपूर्ण मतदान, ५० प्रतिशत मत खस्यो

  सिलिचुङ सम्बाददाता

 

भोजपुर नगरपालिका ५, बोखिमस्थित पञ्चकन्या माविको मतदानकेन्द्र । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । भोजपुरमा सौहार्दपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सम्पूर्ण मतदानकेन्द्र र मतदानस्थलमा शान्तिपूर्ण मतदान खसेको हो ।
आईतबार विहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । भयरहित वातावरणमा मतदान गर्न पाउँदा मतदाताहरु उत्साहित बने । कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेको भोजपुरमा यसपटक ५०.४० प्रतिशत मत खसेको छ ।
एकसय ५७ मतदान केन्द्रहरुबाटै मुचुल्का उठाएर मतपेटिका ल्याउने कामको प्रक्रिया सुरु गरी सदरमुकाम ल्याउने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए । उनका अनुसार सबै केन्द्रबाट सोमबार विहान ९ बजेसम्म मतपेटिका आईपुग्नेछ ।
विगतको तुलनामा यसपटक झण्डै ९ प्रतिशतले कम मतदान भएको छ । २०७४ को प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल ५९ प्रतिशत मत झरेको थियो ।
सबै स्थानबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर भोलीदेखि नै मतगणना गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । मतगणनाका लागि यसपटक भोजपुर नगरपालिकाको सहिदस्मृति भवनस्थित मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली लगाई व्यवस्थित पारिएको छ । मतगणनाका लागि पूरा तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार