
भोजपुर । आमचोक गाउँपालिका ५, पावला च्याम्लुम्पाका सुखमान राई ज्यालादारीमा आरा काट्ने (काठ चिर्ने) ज्यामी काम गर्छन् । यसैबाट उनको घरगर्जो टर्छ । तर अहिले उनको यहि एउटा कमाउने बाटो पनि बन्द भएको छ । आरा काट्ने क्रममा रुखले किचेर उनको मेरुदण्ड भाँचिएपछि अहिले उनी थलिएका छन् । आर्थिक अभावका कारण उपचार हुन नसक्दा एकवर्ष अघिदेखि उनी अहिले ओछ्यानमा दिसापिसाबको अवस्थामा थलिएका छन् ।
गत २०७८ असोज ९ गते धनकुटामा आरा काट्ने क्रमम रुखले किचेपछि उनको मेरुदण्ड भाँचिएको थियो । साथिहरुको केहि आर्थिक संकलनमा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ दिन राखियो । छरछिमेक, साथिभाईबाट संकलित २ लाख ५० हजारले उनको ढाडमा स्टिल लगाईयो । पछि २०७८ कार्तिक १९ गते ढाडको टाका खोल्न अस्पताल बोलाईएपनि आर्थिक अभावका कारण अहिलेसम्म अस्पताल जान सकेका छैनन् ।
विगत एकवर्षदेखि उनी ओछ्यानमै थलिएका छन् । पारिवारीक स्थिती नाजुक भएका कारणले पनि उपचारभन्दा बिहानबेलुकीको छाक कसरी टार्ने भन्ने उनको परिवारलाई पिरलो छ । ‘बिहानबेलुकीको छाक टार्नै गाह्रो छ, छोराका यो बेहालले अझै पिर थपिन्छ, उपचारमा लागेको ऋण पनि त्यतिक्कै छ, उपचार त परको कुरा हो’ सुखमानका बाबु नेत्रबहादुरले भने ।
बाबुको रेखदेख गर्नुपरेकोले उनका छोरा नारायण पनि विद्यालयबाट बञ्चित भएका छन् । गरिबीका कारण बावुको उपचार हुन नसक्दा फुर्सदमा ज्याला मजदुरी गर्ने गरेको नारायण सुनाउँछन् । भने, ‘घरगर्जो उतार्नै मुस्किल छ, उपचार नपाउँदा बावुको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकुल बनेको छ, स्कुल छोडेर भएपनि ज्यालामजदुरी गर्नैप¥यो’
एकवर्षदेखि ढाडको स्टिल ननिकालिँदा नसामा असर पुगेका कारण उनको दुवै खुट्टा चल्न बन्द भएको छ । सामान्य हिँडडुल गर्न नसकेकाले उनी गम्भिर रुपमा थलिएका छन् । ऋण माग्न छरछिमेकसम्म पुग्न पनि समस्या भएको उनकी आमा फुलमायाले सुनाईन् । ‘पहिलेकै ऋणहरु छन्, फेरिफेरि ऋण माग्न जान पनि गाह्रो, कसरी मुख लाग्नु र’ फुलमायाले सुनाईन् ।
छोराको उपचारार्थ परिवारले सहयोगको अपिल गरेका छन् । आर्थिक सहयोग जुटेमा छोराले नयाँ जिवन पाउनेमा बाबु नेत्रबहादुर, आमा फुलमाया र छोरा नारायणलाई आशा छ ।
सहयोगका लागि सम्पर्कः
सुखमान राई (विमारी) ९७४६९६१७७१
नीर बहादुर राई (मावली दाजु) ९८४१५१८७४२
रामेश्वर राई (मावली दाजु) ९८०२७९२२००
सहयोगको लागि बैङ्क विवरणः
सिद्धार्थ बैङ्क
नामः राम कुमार राई
खाता नम्बरः ०३०१५०६८३२७








