टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, गौरबका आयोजनालाई प्राथमिकता

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । हिँउदे अधिवेशनबाट गाउँपालिकाले गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै ३ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले यसपटक गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राख्दै ६० लाख छुट्याएको छ । उक्त भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारको ६० प्रतिशत लगानी साझेदारी रहेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिँदै प्रशासनिक भवन लगायतका गौरबका आयोजनाहरुलाई अगाडी सारेको छ । गाउँपालिकाको आन्तरिक आयको दायरा कम भएको कारण यो गाउँसभामा जनअपेक्षित बजेट बिनियोजन गर्न नसकिएको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको आन्तरिक आयको दायरा बढाउने विषयसमेत छलफल गरिएको छ । भने, ‘आन्तरिक श्रोत बृद्धि गर्ने पर्याप्त बजेट नहुँदा गौरबका आयोजनाका कामहरुलाई प्राथमिकता दिएका छौँ । अन्य शिर्षकमा पनि धेरैथोरै मिलाएर बजेटिङ गरेका छौँ’
गाउँपालिकाले लिएको रणनीति अनुसारका नीति तथा कार्यक्रमहरुमा बजेट आपूर्ति नै कम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले गाउँपालिकाले जनताका अपेक्षित मागअनुसारका आवश्यकता र प्राथमिकताको आधारमा बजेटको तर्जुमा गरिएको बताईन् । । ‘जनताको माग धेरै छ, विकासको धेरै आशा गरेका छन्,’ उपाध्यक्ष राईले भनिन्, ‘ती जनताका मागहरुलाई सक्दो समेट्ने कोशिस गरिरहेका छौँ । तर यसपटक भने पर्याप्त बजेट भएन । वडास्तरका कतिपय योजनालाई सम्बोधन गर्न पनि सकेनौँ । यसमा एकदम दुःख लागेको छ ।’ बजेट नहुँदा शिक्षा तथा सामाजिक विकासका केहि योजनाहरुलाई पूर्णता दिन नसकिएको उनले सुनाईन् । यसपटक सम्बोधन हुन नसकेका जनअपेक्षित योजनाहरुलाई १४ औँ गाउँसभामा समेटिने गरी बजेटको तर्जुमा गरिने उनले बताईन् ।


यसपटकको गाउँसभामा बिनियोजित बजेट थोरै भएपनि आधारभूत कामलाई प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘जनताका धेरै योजनाहरु थिए, सिमिति श्रोतसाधनबाटै उपलब्ध बजेटलाई अधिकतम सदुपयोग हुनेगरी आवश्यकताका आधारमा बजेटिङ गरेका छौँ ।’ गाउँपालिकाको कामलाई गुणात्मक बनाउन जनप्रतिनिहरु लागि परेको बताउदै उनले आफ्ना ठाउँमा रहेका योजनाहरुको स्थानीय आफैँले पनि अनुगमन गर्न आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार