भोजपुरमा लम्पी स्किन रोगको प्रकोप बढ्दै, पशुचौपाया थलिएपछि किसान चिन्तित

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । अधिकांश गाउँवस्तीका घरपालुवा गाईवस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिभएको छ । खेतीको सिजन सुरु भएका बेला गोठका गाईबस्तु रोगबाट ग्रसित हुन थालेपछि थलिन थालेका छन् । संक्रमणविरुद्धको भ्याक्सिन पर्याप्त नहुँदा सयौँ ग्रामीणबस्तीमा पशुचौपाया मर्न थालेका छन् ।

टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका लगायत विभिन्न ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको हो । हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशुचौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले बताए ।

‘बेँसीखेतमा बाँझो जोत्ने बेला भएको छ, बालीनाली लगाउने समय छ, गोठमा जोत्ने गोरुहरु लम्पी रोगबाट थलिएका छन्, उचित उपचार छैन, यसपाली कसरी खेती उतार्ने खै?’ भोजपुर नगरपालिका ५, बोखिमका स्थानीय किसान नवराज राईले चिन्तित हुँदै सुनाए । भोजपुरमा पछिल्लो एक महिनाको अन्तरालमा यो रोगको प्रकोप बढेको हो । घरलौरी नै गाईवस्तुको छालामा बिबिरा आउने, पाक्ने, र गाईवस्तुमा कडा ज्वरो आउने प्रकोप बढेको हो ।
खेती गर्ने मुखैमा पशुचौपाया विरामी हुन थालेपछि किसानहरुलाई पशु चिकित्सकसंग परामर्श र उपचार गर्न भ्याईनभ्याई छ । खेती उतार्ने गोठका गाईवस्तु नै एकपछि अर्को गर्दै मर्न लागेपछि किसानहरुको कन्तविजोग भएको छ । ‘गोठमा गाईवस्तुहरु विरामी छन्, खेतीभन्दा पनि यतिबेला गाईवस्तुमा देखिएको संक्रमणले चिन्ता थपिदिएको छ, पशु डाक्टरलाई भेट्दै दिन जान्छ’ अर्का किसान कविराज राईले सुनाए, ‘गाईवस्तु नै मरेपछि कसरी खेती उतार्नु, कसरी बालीनाली लगाउनु’
टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका लगायत विभिन्न ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको हो । हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशुचौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले बताए । ‘यो रोगको प्रकोप गर्मी बढेसंग विभिन्न माध्यमबाट एक पशुदेखि अर्कोमा सर्ने गरेको तथ्याङ्कले देखाएको छ, यसको नियन्त्रणका लागि गाउँपालिकाका प्रभावित क्षेत्रमा भ्याक्सिनेसनमा जोड दिएका छौँ’ उनले भने ।
रोगको संक्रमणपछि पशुचौपायाको आँखामा कचेरा निक्लने, सिंगान बग्ने, बिबिरा सुन्निने, पाक्ने, फुटने, फिज धेरै निकाल्ने जस्ता लक्षण देखिने पशु चिकित्सक डा. रामकृष्ण पौडेल बताउँछन् । उनका अनुसार गाईगोठको सरसफाइ गर्ने, संक्रमित गाईभैंसीको ढुवानी, आवातजावत र प्रत्यक्ष सम्पर्कबाट जोगाउनुपर्ने देखिन्छ ।
भोजपुरमा यसका रोकथामका लागि स्थानीय तहहरुले एन्टिबायोटिक्स औषधि, घाउमा लगाईने फिनेल, चार्मिल, पोटासियम पर्मानेन्ट लगायतका औषधिहरू उपलब्ध गराउन थालेका छन् । टेम्केमैयुङ गाउँपालिकाले वडा नं ३, ५, २, १ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा भ्याक्सिन ल्याएर वितरण गरेको छ । ‘प्रकोप अत्याधिक बढेसंगै अनुदानमै भ्याक्सिन माग गरेर केहि मात्रामा वितरण गरेका छौँ, पर्याप्त भ्याक्सिन ल्याउने काम भईरहेको छ, सक्दो पहल गरिरहेका छौँ’ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार