
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ५२ करोड बराबरको बजेट ल्याएको छ । यो वर्ष ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ मूल भन्ने नाराका साथ गाउँपालिकाले ०८०÷८१ को नीति तथा कार्यक्रम मार्फत कुल ५२ करोड ५७ लाख ९२ हजार एकसय ७० रुपैयाको बजेट सार्वजनिक गरेको हो ।
गाउँसभाबाट चालुतर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगततर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले सार्वजनिक गरेकी थिइन् । गाउँपालिकाको सडक तथा भौतिक पूर्वाधारको विकाससँगै कृषिलाई पहिलो प्राथमिकतामा राखेर यो वर्षको बजेट ल्याईएको उपप्रमुख राईले बताइन् ।
गाउँपालिकाले कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै बजारीकरण, गाउँपालिकालाई दूधजन्य र मासुजन्य मूख्य आम्दानीको श्रोतबाट आत्मानिर्भर बनाउने, ‘एक घर एक करेसाबारी’ कार्यक्रमलाई जोड दिने, गाउँपालिकामा चिलिङ भ्याट सहितको डेरी स्थापना गर्ने, कृषकलाई उत्पादनमा आधारित अनुदानमा ग्राहयता प्रदान गर्ने जस्ता विभिन्न कृषि उत्पादन र आत्मनिर्भर कार्यक्रम समेटिएको उपप्रमुख राईले जानकारी दिइन् ।
कृषिसंगै गाउँपालिका क्षेत्रका सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको छ । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले जनाए । गाउँसभाले टेम्केमैयुङ गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९, प्राविधिक कर्मचारी फिल्ड भत्ता कार्यविधि २०७९, उन्नत जातका पशुपन्छी वितरण तथा व्यावस्थापन कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको कर्मचारी तह बृद्धि सम्बन्धी कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८०, साना सिंचाई योजना सञ्चालन निर्देशिका २०८० र कर्मचारी प्रोत्साहन भक्ता कार्यविधि, २०७५ पहिलो संशोधन पारित गरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका प्रमुख सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको प्रमुख बस्नेतको भनाइ छ । ‘गतवर्ष जनताका सबै मागहरु सम्बोधन गर्न सकिएन, माग अनुसारका योजना सञ्चालनमा समस्या भयो ।’ प्रमुख बस्नेतले भने, ‘सरकारबाट आउने बजेट कटौती हुँदा धेरै हामीलाई योजना छनौट गर्न सकस परेको छ । काम सम्पन्न भएका योजनाहरुको दायित्व सिर्जना भएको अवस्था छ । जसकारण जनताले गाउँपालिकाप्रति असन्तुष्टि पोख्ने गरेका छन् ।’
सरकारले बाँड्ने बजेट नै अवैज्ञानिक
आन्तरिक श्रोतका आधारमा विनियोजित हुने बजेटहरुबाट सबै स्थानीय तहहरुलाई न्यायोचित नहुने जनप्रतिनिधीहरुले गुनासो पोख्ने गरेका छन् । आन्तरिक श्रोत हेरेर सरकारले स्थानीय तहहरुमा पठाउने बजेट वैज्ञानिक नभएको गाउँसभाका सदस्य एवम् टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ खावाका वडाध्यक्ष सुनिल राईले बताए । बजेटको मापदण्ड परिवर्तन नगरेसम्म स्थानीय तहरुले सोचे अनुसारले विकासका गतिविधि बढाउन नसक्ने उनले सुनाए ।
वडाध्यक्ष राईले भने, ‘आन्तरिक श्रोतको आधारमा बजेट पठाउने प्रणाली परिवर्तन गर्न आवश्यक छ । दुर्गम क्षेत्रका स्थानीय तहको आन्तरिक श्रोत कम हुने हुँदा त्यस्ता स्थानीय तहलाई दिने बजेटमा बृद्धि गर्नुपर्ने आवश्यक छ । जसकारण हाम्रो जस्ता कम आन्तरिक श्रोत भएका स्थानीय तहलाई विकासे खाका पुरा गर्नै समस्या हुने गरेको छ ।’








