भोजपुर । यसवर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सिद्धकाली बोर्डिङ स्कुल जिल्लामै पहिलो भएको छ । यसवर्षको एसईई नतिजामा सबैभन्दा बढी जीपीए प्राप्त गर्ने जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिद्धकाली बोर्डिङले पहिलो स्थान ल्याएको हो ।
सिद्ध्काली बोर्डिङ स्कुल भोजपुरका सुशिल बिष्टले ३ दशमलव ८० जिपिए ल्याउँदै जिल्लामा प्रथम भएका हुन् । उनीसंगै युनिक एन्ड युनाइटेड बोर्डिङ स्कुल भोजपुरका प्रसन्ना पराजुली र न्यु समिट बोर्डिङ स्कुल दिङ्लाका अनुराज अधिकारी क्रमशः दोश्रो र तेश्रो स्थान आएका छन् । उनीहरुको पनि समान ३ दशमलव ८० जिपिए हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ ।
सिद्वकाली बोर्डिङ स्कुलबाट जम्मा २२ जना परीक्षार्थीहरुमध्ये ९ जनाले ३ दशमलव ६ जिपिए भन्दा माथि, ११ जनाले ३ दशमलव २ जिपिए भन्दा माथि र २ जनाले २ दशमलव ८ जिपिए हासिल गरेका छ्न् । गतवर्ष भन्दा नतिजा सुधार आउनुमा उचित शैक्षिक व्यवस्थापन, विद्यार्थीहरुको लगनशिलता, दक्ष शिक्षकहरुको मेहेनत तथा अभिभावकहरुको सहयोग रहेकाले उत्कृष्ट नतिजा ल्याउन थप सहयोग पुगेको सिद्धकाली बोर्र्डिङका प्रिन्सिपल निलेश सुवालले बताए ।
यस्तै सगरमाथा मावि घोरेटारकी रुवामाबुङ राईले ३ दशमलव ७५ जिपिए ल्याउँदै सामुदायिक विद्यालयतर्फ प्रथम बनेकी छिन् । यस्तै सामुदायिकतर्फ विद्योदय मावि भोजपुरका सुदिप खड्का र शारदा मावि प्याउलीकी एलिजा तामाङले समान ३ दशमलव ७० जिपिए ल्याउँदै दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् ।
योवर्ष जिल्लामा कुल २ हजार ४ सय ११ जनामध्ये कुल २ हजार ३ सय ३७ जना परिक्षामा सहभागी थिए । जसमध्ये ३४ जनाले ३ दशमलव ६ जिपीए हासिल गरेका छन् भने एकसय ९२ जनाले ३ दशमलव ० भन्दा माथि जिपिए हासिल गरेका छन् ।