भोजपुरको हतुवागढी गाउँपालिकामा पर्यटक भित्राउन हतुवागढी पदमार्गको प्रबद्र्धन गरिँदै

  सिलिचुङ सम्बाददाता

 

हतुवागढि गाउँपालिकामा रहेको ऐतिहासिक पदमार्ग सरसफाइमा स्थानीयबासी । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी क्षेत्रलाई केन्द्रित गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन हतुवागढी पदमार्ग प्रबद्र्धन थालिएको छ । हतुवागढी गाउँपालिकाको जोरआहाले, शंखामचुली र दिमालुङमा पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा गाउँपालिकाले एक करोड ३४ लाखको लागतमा पदमार्ग निर्माण गर्ने बताईएको छ । भोजपुरको हतुवाक्षेत्रलाई मुख्य पर्यटनसंग जोड्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । विशेषगरी आन्तरिक तथा बाह्य पर्यटन भित्राएर गाउँपालिकालाई आर्थिकोपार्जन समेत जोड्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले बताए ।

विशेषगरि भोजपुरको ऐतिहासिक किरात राजाहरुले शासन गरेको गढि अर्थात क्षेत्र पनि पदमार्गले जोड्ने भएकाले हतुवागढिको ऐतिहासिकताको पनि जगेर्ना भईरहने

’गाउँपालिकालाई मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न बहुप्रतिष्ठित पर्यटकीय पदमार्ग निर्माणमा लागेका छौँ’ उनले भने, ‘पदमार्गको करिब ६ किलोमिटर निर्माण कार्य अन्तिम चरणमा छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरिएको छौँ । यो पदमार्गलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो ।’ यो आर्थिक वर्षमा पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा एक करोड ५० लाख बजेट विनियोजन भएको निरौलाले जानकारी दिए ।
सिंगो गाउँपालिकालाई नै पर्यटनसंग जोड्ने भएकाले पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनाको रुपमा राखेर काम अघि बढाईएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई बताउँछन् । अध्यक्ष राई भन्छन्, ‘भोजपुरलाई तराईसंग जोड्ने चुहारको निर्माणाधिन पक्की पुल बनेपछि पर्यटन प्रबद्र्धनमा सहज हुनेछ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको दृटिकोणले गाउँपालिकाको विकासमा यस पदमार्गले महत्वपूर्ण भूमिका खेल्ने छ ।’
हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको छ । दूधकोशी नदिको चुहारमा पक्की पुलको काम सकिएपछि धरान, इटहरी, विराटनगरबाट ६५ किलोमिटर दूरीमा रहेको गाउँपालिकाको केन्द्र ऐतिहासिक घोडेटार बजारमा पर्यटकको आगमनमा बृद्धि हुने अध्यक्ष राईले सुनाए ।
पदमार्गबाट मनोरम हरियाली पहाडी थुम्कासँगै फाटिला खर्कहरुको दृश्यले पर्यटकलाई मोहित गराउँदछ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको संख्या बढ्ने देखिन्छ । यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै दुई दिनसम्म पदमार्गको भरपूर आनन्द लिन सक्नेगरी पदमार्गलाई विस्तार थालिएको गाउँपालिकाले जनाएको छ ।
विशेषगरि भोजपुरको ऐतिहासिक किरात राजाहरुले शासन गरेको गढि अर्थात क्षेत्र पनि पदमार्गले जोड्ने भएकाले हतुवागढिको ऐतिहासिकताको पनि जगेर्ना भईरहने हतुवागढि गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष सञ्जल राईले बताए । पदमार्गको माध्यमबाट नै जिवित ऐतिहासिक हतुवाक्षेत्रको पनि प्रबद्र्धन हुने उनले बताए ।
‘हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो । यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।’ वडाध्यक्ष राईले भने ‘पदमार्गको विकाससंगै हतुवा क्षेत्रका सम्पूर्ण ऐतिहासिक, साँस्कृतिक र धार्मिक क्षेत्रको पनि प्रबद्र्धनमा टेवा पुग्ने देखिन्छ ।’ यो पदमार्गलाई ऐतिहासिक पदमार्गको रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या समेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने गाउँपालिको जनाएको छ ।
समुन्द्री सतहदेखि करिब एकहजार आठ सय ६५ मिटरको उचाईमा रहेको पदमार्गको शंखामचुली डाँडाबाट तराई फाँट, विभिन्न मनोरम हिमश्रृंखला नियाल्न सकिन्छ । प्राकृतिक प्रच्यूर जैविक विविधता र सुन्दरताले पदमार्गको थप सौन्दर्य बढाएको छ । प्रचारप्रसारको कमिले गर्दा ओझेलमा परेको पदमार्गको प्रबद्र्धनमा लाग्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले बताईन् । उनका अनुसार पदमार्गको प्रबद्र्धन गर्नसके स्थानीय श्रोतसाधनको पनि अधिकत्तम उपयोग हुनुको साथै स्थानीय कृषि उत्पादनको पनि प्रबद्र्धन हुने बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार