जसले बनाईदिए डेढ करोड बराबरको विद्यालय…

  प्रदिप चन्द्र राई

 

(जन्मोथलोमा केहि गरौँ भन्ने कल्याणकारी मनोभावनाका साथ भू‍‌पू ब्रिटिस गाेर्खा सैनिक कृष्ण बहादुर राईले आफु जन्मिएको गाउँ पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङकाे एक विद्यालयलाई एक करोड ३९ लाखको भवन बनाईदिएका छन् ।)

भाेजपुर । धन यस्तो चिज हो, जसको पछाडि मानिस जीवनभर दौडिरहन्छ । धनले मानिसलाई प्रायजसो स्वार्थी बनाएको हुन्छ । भनिन्छ नि, धन देखेपछि महादेवका पनि त्रिनेत्र खुल्छन् । अहिलेको सामाजिक परिवेशमा पनि मनको शान्ति र धर्मको नाममा पुण्य कमाउने हातहरु पनि थुप्रै भेटिन्छन् । तर निस्वार्थ खुला हृदय भएका सहयोगी हातहरु भेट्टाउनु एकदमै दुर्लभ कुरा हो । तीनै मनका धनीमध्ये एक जसले आफुले जीवनभर दुःख, पसिना, मेहनतले आर्जेको श्रीसम्पति सामाजिक कल्याणमा दिने उदार दिल भएका उदाहरणीय समाजसेवी हुन्, भू.पू. ब्रिटिश आर्मी कृष्ण बहादुर राई ।
हाल धरान बस्दै आएका ७१ वर्षिय राईले आफु जन्मिएको गाउँको एक विद्यालयलाई एक करोड ३९ लाखको भवन बनाईदिएका छन् । जन्मोथलोमा केहि गरौँ भन्ने कल्याणकारी मनोभावनाका साथ राईले पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङको हाँबु थर्पुस्थित आफ्नो गाउँको एक विद्यालयलाई व्यक्तिगत खर्चमा विद्यालय भवन तथा भौतिक पूर्वाधार निर्माण गरिदिएका हुन् ।
स्थानीय शितलादेवी आधारभुत विद्यालयको शैक्षिक गुणस्तर र गाउँको हितका लागि राईले अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको सुविधासम्पन्न भवन निर्माण गरिदिएका हुन् । एउटा व्यक्तिले विद्यालयलाई व्यक्तिगत लगानीमा गरेको यो सहयोग जिल्लाकै एकमात्र उदाहरण हो ।
‘शिक्षा मानवीय जीवनको पहिलो आधार हो । शिक्षाविना जीवन अँध्यारो छ । आफ्नै जन्मोथलोमा केहि गर्छु भन्ने हेतुले सकेजति सहयोगले गाउँका साना नानीहरुको पढ्ने विद्यालय भवन बनाईदिएको हुँ ।’ राई भन्छन्, ‘जीन्दगीमा कति कमाए कति खर्च लेखाजोखा छैन । आफुले जोहो गरेको सम्पतिलाई गाउँकै कल्याणमा लगाउने सोच गरे । गाउँ आए, विद्यालय भवन बनाएँ । यो भन्दा खुशीको क्षण अरु के हुन्छ र ।’
शिक्षाबाट बञ्चित गाउँका बालबालिकालाई निजी विद्यालय जस्तै गाउँकै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा मिलोस् भन्ने मनोकाँक्षा र उद्देश्यले भवन निर्माण गरिदिएको राई सुनाउँछन् । भन्छन्, ‘आफ्ना नानीहरुलाई शहरबजारमा बोर्डिङ स्कुल लगाउन नपरोस्, गाउँमै बोर्डिङ सरह भौतिक सुविधायुक्त गुणस्तरीय शिक्षा मिलोस्, भविष्यमा गाउँकै लागि केहि गर्ने जनशक्ति बनोस् भन्ने मेरो ईच्छा हो ।’
राईको अतुलनीय योगदानले विद्यालयको भौतिक संरचना मात्रै नभई शैक्षिक गुणस्तरमा पनि सहयोग पुग्ने सोहि प्रधानाध्यापक चन्द्र बहादुर बोगटी सुनाउँछन् । शैक्षिक गुणस्तरको पहिलो आधार भौतिक पूर्वाधार भएकाले बालबालिकालाई व्यवस्थित र सुरक्षित रुपमा पठनपाठन सुरु गर्न सकिने उनले बताए ।
करिब एकवर्षको समयावधिमा सम्पन्न उक्त भवन निर्माणमा राई स्वयम्ले धरान, विराटनगरबाट कच्चापदार्थ ढुवानी गर्नुदेखी भवन निर्माणका काममा समेत खटे । २०७९ मंसिर १५ गतेबाट सुरु विद्यालय भवनको काम गत मंसिर मसान्तमा सकिएको थियो । विद्यालयलाई गरेको उदाहरणीय काम प्रशंसनीय रहेको स्थानीय सरोकारवाला पदम बहादुर राईले बताए । उनले भने, ‘हाम्रो गाउँ, हाम्रो ठाउँ मात्रै नभएर सिंगो जिल्लामै यस्तो सहयोग गर्ने छैनन्, सुनेका पनि छैनौ । उहाँले गर्नु भएको यो सामाजिक कल्याणकारी भावनाको सिंगो गाउँले कदर गर्दछ । गाउँको शिक्षामा नयाँ आयाम थपिएको छ ।’
मानिस सामाजिक प्राणी भएसंगसंगै सामाजिक कार्यमा पनि उत्तिक्कै सक्रिय हुनु जोकोहिको बसमा हुदैन भन्ने ज्वलन्त उदाहरण राई बनेका छन् । उनको यो अतुलनीय सहयोगप्रति उच्च सम्मान गर्दै पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले विद्यालयको थप व्यवस्थापन गाउँपालिका सहयोगबद्ध रहने समेत जिकिर गरेका छन् । अध्यक्ष राई विद्यालयका लागि थप घेराबारा, प्रवेशद्धार र अन्य भौतिक व्यवस्थापनका लागि बजेटीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

को हुन् राई
राई भु.पू. ब्रिटिश सेनाका सेवानिवृत्त लाहुरे हुन् । वि.स. २०१० सालमा सोहि तिवारीभञ्ज्याङ हाँबुथर्पुमा जगबहादुर राई र मोतीरानी राईका कान्छा छोराका रुपमा जन्मिएका राई वि.स.२०३१ साल गोर्खा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । १५ वर्ष सेवा गरि वि.स.२०४५ सालमा सेवानिवृत्त भएका राई सामाजिक काममा निरन्तर तल्लिन समाजसेवी हुन् । राई र उनकी धर्मपत्नी फुलमाया राईका ४ छोरी छन् । ठुली छोरी हाल अष्ट्रेलिया तथा ३ छोरी हाल बेलायतमा अध्ययन गर्दैछन् । आफु सेवाबाट विदा भएपनि आफ्नो जन्मथलोलाई खुब माया गर्छन् । बाल्यकाल बितेको ठाउँमा स्वास्थ्य चौकी भवन बनाउने उनको पहिलो योजना थियो । तर गाउँमा स्वास्थ्य चौकी भवन बनिसकेकाले उनले गाउँकै विद्यालयको भौतिक पूर्वाधार बनाईदिने निधो गरेका थिए ।

पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङ हाँबुस्थित निर्माण सम्पन्न स्थानीय शितलादेवी आधारभुतको विद्यालयको भवन तथा निर्माणकर्ता भू.पू.ब्रिटिश लाहुरे कृष्ण बहादुर राई । तश्विर, प्रदिपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार