प्रधानमन्त्रीको मन्त्रिमण्डल हेरफेर गर्ने योजना धकेलिए

सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर्णय नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिमण्डल हेरफेर गर्ने योजना पर धकेलिएको छ।

 

कार्यसम्पादन चित्तबुझ्दो नभएका मन्त्री हटाएर ‘गियर’ बदल्ने बताएका उनी अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको हरियो झन्डा कुरिरहेका छन्।

 

मन्त्रीलाई राम्रोसँग काम गर्न प्रधानमन्त्री प्रचण्डले पुस पहिलो हप्ता एक महिनाको समय दिएका थिए, जुन पूरा भएको छ।
मन्त्रीहरूको ‘रिपोर्ट’ हातमा लिएर राखेका प्रधानमन्त्रीले तत्काल हेरफेर गर्न भने नपाउने भएका छन्। अझै कम्तीमा एक महिना यसैगरी गुज्रिन सक्ने देखिएको छ।

 

कांग्रेसले निर्णय नगरेकैले मन्त्रिमण्डल हेरफेर रोकिएको बालुवाटार स्रोतले जनाएको छ। ‘मन्त्री फेरेरसरकारको कार्यलाई अझै गति दिने प्रधानमन्त्रीको योजना हो,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी तयार छन् तर कांग्रेसले निर्णय गर्न सकेको छैन।’

 

कांग्रेसले राष्ट्रिय सभा चुनावसम्म पर्खनु भनेकाले चुनावपछि समीक्षा हुने र प्रधानमन्त्रीले मन्त्रीहरूको कार्यप्रगति गठबन्धन बैठकमा पनि राख्ने ती अधिकारीले बताए। राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदै छ। गठबन्धन १९ सिटमै जित्ने योजनासहित खटिएको छ।

 

प्रधानमन्त्रीसमक्ष प्रगति विवरण बुझाएका मन्त्रीहरूको चासो प्रधानमन्त्रीको आशय र भावभंगीमा केन्द्रित हुन थालेको छ। उनीहरूमध्ये कतिपय आफ्नो प्रगति सञ्चार माध्यममा देखाउन तल्लीन छन्। सञ्चार मन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किरातीले पत्रकार सम्मेलन नै गरी एक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार