राष्ट्रिय सभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा चुनावमा तालमेल गरेका छन्। यी दुई दलले कोसी प्रदेश सभाको दुई सिटमा सोमबार तालमेल गर्ने निर्णय गरेका हुन्।

 

दुई दलबीच कोसीको अन्यमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको छ।

 

आगामी माघ ११ गते हुन लागेको चुनावको सोमबार मध्यरातीदेखि मौन अवधि सुरु हुनेछ। मंगलबारदेखि प्रचार प्रसार गर्न नपाइने भएकोले सोमबार नै दुई दलले लिखित सम्झौता गरेका छन्।

 

सहमतिसँगै एमालेले अन्यमा उम्मेदवार बनाएका परशुराम अधिकारीको उम्मेदवारी निस्क्रिय हुनेछ। यद्यपि, उम्मेदवारको सूचीमा उनको नाम कायमै रहन्छ। राप्रपाले महिलातर्फ उम्मेदवारी दिएको थिएन।

 

सत्ता गठबन्धनका तर्फबाट अन्यमा कांग्रेस नेता कृष्ण सिटौला र महिलामा चम्पादेवी कार्की उम्मेदवार छन्। कोसीमा एमाले राप्रपाबीच गठबन्धनबनेपछि चुनाव रोचक बन्ने देखिएको छ।

 

प्रदेश सभामा एमालेका ४० सांसद छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख ११२ छन्। जसको कूल मतभार ४२४८ हुन्छ।  यसैगरी प्रदेश सभामा राप्रपाका  ६ जना सांसद् छन्। स्थानीय तहका प्रमुख-उपप्रमुख ४ जनाको कूल मतभार ३९४ छ।

 

गठबन्धनमा कांग्रेसका प्रदेश सांसद २९ जना छन्। यस्तै, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन्।

 

स्थानीय तहमा कांग्रेसका ११३, माओवादी ३१, एकीकृत समाजवादी ७ र जसपाका ४ जना छन्।  गठबन्धनको कूल मतभार ५४३६ छ। एमाले-राप्रपा गठबन्धनपछि ४ हजार ६ सय ४२ मतभार पुग्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार