कोसी प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलामात्र राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनकी अर्की उमेदवार नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की पराजित भइन् ।
नतिजापछि सिटौला आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेनन् । बरु कार्की बसेकै ठाउँमा पुगेर सान्त्वना दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अबेरतिर पुगेर मात्र सिटौलाले प्रमाण पत्र बुझे ।
कोसीमा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा दोस्रोपटक पराजय भोगेको हो । अघिल्लोपटक पनि ‘छिर्केदाउ’ लगाउँदै एमालेका उमेदवार विजयी भएका थिए । बिहीबार रुक्मिणी कोइराला विजयी भइन् । माओवादीकी कार्कीका लागि विगतकैजस्तो पराजयको कथा दोहोरियो ।
अघिल्लोपटक गठबन्धनसँग बहुमत हुँदाहुँदै जनता समाजवादी पार्टी (जसपा)का उमेदवार पराजित भएका थिए । कोसीमा एमाले दोस्रोपटक ‘छिर्केदाउ’ लगाएर गठबन्धनका उमेदवारलाई पराजित गर्न सफल भएको छ । यसपटक उसको तालमेल राप्रपासँग थियो । तर, पनि गठबन्धनसँग स्पष्ट बहुमत थियो ।
कांग्रेस उमेदवार मात्र विजयी भएपछि माओवादीले कांग्रेसबाट सधैँ धोका हुने गरेको आरोप लगाएको छ ।