नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चमा नेतृत्व चयनका लागि चुनाव भएको छ । आइतबार साँझ सम्पन्न १४औं सम्मेलनबाट ईश्वर आचार्यको प्यानलै भारी मतका साथ निर्वाचित भएका छन् ।
आचार्यले १४७ मत ल्याउँदा प्रतिस्पर्धी ढोकल शिवयोगी (मगर) ले ५ भोटमात्र ल्याए । महिला उपाध्य क्षमा प्रजुना चौहान शेर्पा १४१ भोट ल्याएर विजयी बन्दा सञ्जुकुमारी राई ८ भोटमा रोकिइन् । १४७ भोट ल्याएर पासाङ शेर्पाले खुल्ला उपाध्यक्ष जिते भने प्रतिद्वन्द्वी पर्शुराम रोकाले २ भोटमात्र ल्याए ।
सचिवमा उठेका वीरेन्द्र श्रेष्ठले ८ भोट पाउँदा फुर्लाक्पा शेर्पा १४३ भोट ल्याएर निर्वाचित बने । उपसचिवमा अविरल कार्कीले १३ मत पाए भने प्रतिस्पर्धी महेन्द्र घिमिरे १३४ मत ल्याएर निर्वाचित भए । अनन्त राईलाई १४४ भोटले पछि पार्दै पेम्दीकी शेर्पाले महिला उपसचिव जितिन् ।
सहमतिका लागि पटकपटकको प्रयास असफल भएपछि चुनावी प्रक्रिया अपनाइएको थियो । निवर्तमान उपाध्यक्ष ईश्वर र सचिव ढोकल प्यानलै बनाएर मैदानमा होमिएका थिए ।
ढोकलको टीमलाई स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राईको साथ थियो । त्यस्तै आचार्यको टीमलाई केन्द्रीय सदस्य हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा, जिल्ला अध्यक्ष शरणकुमार राईले साथ दिएका थिए ।