
लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको प्रष्ट्याएको छ ।
संघका अध्यक्ष गाहामगरले विगत ५ वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जनाए ।
उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको पनि गाहामगरले बताए । गाहामगरले लन्डनस्थित दूतावाससंग आफूहरु निकट रहेको तर कानूनी झमेलामा राजदूतावास संलग्न नहुने र उसले आसन्न अधिवेशनलाई मान्यता पनि नदिने प्रष्ट्याए ।
गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरु लडिरहेको जनाउंदै भ्रष्टाचारका कारण एनआरएनएमा विवाद आएको र त्यसलाई निर्मुल नगरेसम्म वंशजको नेपाली नागरिकता अभियान अगाडि नबढ्ने बताए ।
गाहामगरले लोकप्रिय प्रशासक नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसंग आउंदो अगष्ट १५ मा ‘मिट एण्ड ग्रीट’ र सेप्टेम्बर १३ मा ‘एनआरएनए कप’ गर्ने तयारी गरिरहेको पनि जनाए ।
प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि एक महिना समय अर्को पक्षलाई समेट्न कोशिस गर्दा अर्को समूहले त्यसलाई कमजोरीका रुपमा लिएको बताए । उनले अब बाटो छुटिट्एको बताउंदै अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन नहुने दावी गरे ।
गत २१ चैत २०८० मा सर्वोच्चको परमादेशपछि उच्च स्तरिय कमिटीका संयोजक डा. शेष घलेले वैशाख २०, २१ र २२ (मे ३ देखि ५) मा काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा फेरि अधिवेशन भन्नु भ्रामक र दुःखदायी भएको बताए ।
कार्यक्रममा संघका सचिव कृष्णप्रसाद खतिवडाले कथित अधिवेशन अवैधानिक, गैर कानूनी र समाजले पनि स्वीकार्न नसकेको जिकिर गरे । कानूनी शासनमा चलेको देशमा बसेर विधि विधान, कानूनसम्मत चल्नुपर्नेमा सर्वोच्च अदालतको परमादेश समेत नमान्नु बिडम्बना भएको बताए ।
संघका प्रमुख सल्लाहकार डा. भीम पुनले यसअघि सबैलाई समेट्ने उद्देश्य अनुरुप अर्को समूहका अध्यक्ष हितकाजी गुरुङ लगायतलाई एकताको वार्तामा ल्याउन प्रयास गरिएपनि सम्भव नभएको स्मरण गर्दै एउटा राजनीतिक पार्टीको इसारामा हुने अधिवेशन आधिकारिक नहुने र भ्रममा नपर्न अपिल गरे ।
अर्का प्रमुख सल्लाहकार राजकुमार त्रिपाठी (आरके) ले एउटा समूहले चुनाव गरेर समुदायमा गोलमाल र द्धिविधा बनाएको बताए ।एनआरएनए छिन्नभिन्न हुंदा आफू विक्षिप्त भएको बताउंदै प्रेम गाहामगर नेतृत्वलाई समुदायले स्वीकार गरिसकेकाले फेसबुके एनआरएनएले के भन्छ त्यसले अर्थ नराख्ने धारणा राखे । त्रिपाठीले अब जनसरोकारका ‘डायनामिक’ कार्यक्रम समेत ल्याउन सुझाए ।
एनआरएनएमा भ्रष्टाचार नगरि माथि जान नसक्ने अवस्था भइरहेको भन्दै क्षेत्रीले आफ्नै नागरिकलाई अनागरिक बनाउने षडयन्त्र स्वीकार्य नहुने बताए । अधिवेशन भनेर समाजलाई विभाजित नगर्न उनको चेतावनी थियो ।







