जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् ।

 

‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान गरेपछि हामीले सम्पर्कको पहल गरेका थियौं,’ एक उच्च सैन्य अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यही क्रममा बुधबार उहाँहरुलाई बोलाइएको हो ।’

 

स्रोतका अनुसार, नाम टिपाए अनुसार बोलाइएका जेनजी प्रतिनिधिले सुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै संख्यामा जेनजी प्रतिनिधि पुगेपछि सिग्देलले सुरुमा सबैलाई मिलेर आउन आग्रह गरेका थिए । ‘यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ,’ सिग्देलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’

 

प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि अहिले छुट्टै छलफलमा जुटेका छन् । सैनिक स्रोतका अनुसार, उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।

 

‘त्यसपछि देशलाई बाँकी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेर एजेण्डामा तयार गर्न समेत भनेका छौं,’ सैनिक स्रोतले भन्यो, ‘छलफल एउटा निष्कर्षमा पुगेपछि बल्ल राष्ट्रपतिको उपस्थितिमा संवाद हुन्छ ।’

 

जेनजीका प्रतिनिधि धेरै संख्यामा भएपछि सेनालाई समेत संयोजन गर्न कठिनाइ भएको छ । अझै बाहिर रहेका कतिपय समूहले समेत आफूहरुको कुरा पनि सुन्नुपर्ने भनिरहेका छन् । गएराति समेत प्रधानसेनापति सिग्देलसँग केही जेनजी प्रतिनिधिले संक्षिप्त भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार