इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

 

बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले  भ्रष्टाचारको अन्त्य र रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने तथा युवा पुस्तालाई मुलुकमै बस्न लायक वातावरण निर्माण गर्न सके मात्र जेनजी आन्दोलनमा शाहदत्त प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुने बताएका छन् ।

 

‘यसका लागि युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, राज्य तथा निजी क्षेत्र लगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवम् सहकार्य गर्न हामी सदैव तत्पर छौँ’, अध्यक्ष नेपालको भनाइ छ ।

 

नेता नेपालले जेनजी पुस्ताका जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहङ्कारको कारण दर्जनौँ होनाहार युवाहरूले शाहदत्त प्राप्त गर्नुपरेको तथा मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताएका छन् । युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्ने समेत बताएका छन् ।

 

‘यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवन शैलीका बिचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने÷नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ’, नेपालले वक्तव्यमा भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार