पार्टी खोल्ने गृहकार्यमा बालेन जुटे

जेनजी प्रदर्शनका बेला सबैभन्दा बढी खोजिएका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । हिंसात्मक बनेको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अनि उनैको सिफारिसमा प्रतिनिधिसभा विघटन पनि भयो ।

 

अन्तरिम सरकारको नेतृत्व बालेनले गर्नुपर्ने माग जेनजीबाट आएको थियो । महानगर प्रमुख बालेनले प्रधानमन्त्री बन्ने इच्छा नदेखाएको र उनैको इच्छामा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव भएको हो । बालेनले पनि उनै कार्कीलाई समर्थन जनाउँदै संसद् विघटनको सशर्त अघि सारेका थिए । तर, बालेन जेनजी न वार्ता र न मृतकका शवयात्रामै सहभागी थिए ।

 

उनी त केवल सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स पोस्ट गर्दै समर्थन र आफ्ना सर्त अघि सारेका थिए ।  बालेन नेतृत्व लिन तयार नभएपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ आफूलाई प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित काठमाडौं आइपुगेका थिए । यसै विषयमा हर्कले बालेनको चर्को विरोध पनि गरे । स्वतन्त्र रू पमा निर्वाचित दुई मेयरबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी नै चल्यो ।

 

यस विषयमा मेयर सचिवालयका एक सदस्यले भने, “मेयरजस्तो पदमा बसेको मान्छे प्रदर्शनमा भाग लिने कुरा भएन । पदीय जिम्मेवारीका हिसाबले पनि मिलेन । यसै पनि सुरक्षा चुनौती थियो ।”

 

यतिबेला बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गृह–कानुन मन्त्रालयको बागडोर सम्हालेका छन् ।  बालेनकै बलियो साथका कारण अर्याल गृहमन्त्री बनेको अनुमान लगाइँदै छ । त्यस्तै, कुलमान घिसिङ पनि मन्त्री बनेका छन् ।

 

कठिन परिस्थितिमा पनि बालेन किन ब्याक भए र अब पार्टी खोलेरै चुनावमा सहभागी हुने गृहकार्यमा जुटेका हुन् ? भन्ने आम चासो छ ।  बालेन सचिवालयका एक सदस्यका अनुसार, यतिबेला बालेनलाई पार्टी खोलेर चुनावमा सहभागी हुनुपर्ने जबरजस्ती दबाब सिर्जना भइरहेको छ ।

 

“अनुभवका आधारमा पनि कठिन परिस्थितिमा प्रधानमन्त्री कार्कीले सबै कुराहरू मिलाउन सक्ने भएकाले उहाँलाई समर्थन गर्नुभएको हो । ६ महिनाका लागि उहाँले गरिसकेपछि के गर्ने भन्ने कुरा त छँदैछ । मेयरले पार्टी खोलेर आउन् भन्नेमा ठूलो आश गरेको छ,” ती सदस्यले  भने ।

 

संघीय राजधानी काठमाडौंका मेयर भएकाले पनि बालेन यतिबेला महानगरकै काममा व्यस्त रहेको ती सदस्यले बताए । “६ महिनाका लागि प्रधानमन्त्री बन्नभन्दा महानगरभित्रै गर्नुपर्ने थुप्रै काम छन् । त्यसैले ती काम सक्न मेयर लागिरहनुभएको छ । अन्य कुरा महानगरलाई एउटा ट्रयाकमा हिँडाई सकेपछिको कुरा हो,” उनले थपे ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई असहयोग गर्दै आएको बालेनले बताउँदै आएका थिए । महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद उत्पन्न भएको थियो ।

 

एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलसँग पनि पछिल्लो समय बालेनको ‘ट्युनिङ’ मिलेको थिएन । यस्तो प्रतिकूल अवस्थामा पार्टी खोल्न हतार नगर्न सुझाव उनका सल्लाहकारहरूले दिइरहेको स्रोतको दाबी छ ।

 

स्रोत भन्छ, “देशमा यस्तो परिस्थिति छ । तत्कालै हतार नगर्ने भन्ने पक्षमा मेयरको टिम छ । आन्दोलन जेनजीको हो, उहाँहरूको आवाजलाई स्वतस्र्फूत रुपमा बुझ्नुपर्छ भनेर मेयरले समर्थन गर्नुभएको हो ।” यसअघि बालेनले ०८४ मा पार्टी खोलेर चुनावमा होमिने चर्चा पनि चल्दै आएको थियो । यतिबेला देश मध्यावधि निर्वाचनतर्फ धकेलिएको छ ।

 

सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने घोषणा पनि गरिसकेको छ । त्यसका लागि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रलगायत जुर्मुराइसकेका छन् । बालेनले पार्टी खोलेर संसदीय चुनावमा कसरी होमिन्छन् ? बालेनसँग कस्ता–कस्ता प्रकृतिका मानिस जोडिन्छन् ? त्यो पनि कुनै ठेगान छैन ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । ठूला पार्टीहरूलाई विस्थापित गर्ने लक्ष्यका साथ आउनुपर्ने भन्दै जेनजी युवाहरूले पनि आफ्ना माग अघि सारेका छन् । संसद् विघटन र कार्कीलाई प्रधानमन्त्रीमा समर्थन जनाएका बालेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमै छन् ।

 

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन ६१ हजार ७६७ मत पाएर काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेका थिए ।  दोस्रो नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाएकी थिइन । तेस्रो बनेका एमाले केशव स्थापितले ३८,११७ मत पाएका थिए । महानगर स्रोत भन्छ, “बालेन लामो समय राजनीति गर्ने गरी आएका होइनन् । तर, पछिल्लो समयको माहोलले उत्साहित गराएको छ ।”

 

स्रोतका अनुसार, बालेन क्वाटरमा पुगिसकेपछि कसैसँग पनि भेटघाट नगर्ने सचिवालयको दाबी छ । “बालेनले कार्यालय समयमा मात्रै हो, भेटघाट गर्ने । क्वाटरमा पुगिसकेपछि कसैलाई पनि भेट्दैनन् । आफूलाई काम लाग्ने मान्छेलाई मात्र बोलाएर पनि भेट्ने गर्छन्,” सचिवालय स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार