काठमाडौं। जेन-जी आन्दोलनले एकाएक ठूलो त्रास उत्पन्न भएपछि मुलुकका प्रमुख नेताहरुको भागाभाग चलेको थियो। तत्कालीन हुलदंगाको अवस्थामा को नेता कहाँ राखिएका थिए भन्ने कुरा सुरक्षा फौजले कसैलाई जानकारी दिएको थिएन।
प्रायले अनुमान गर्दै सेनाको शिवपुरीस्थित व्यारेकमा राखेको हल्ला फैलाएका थिए। तर, वास्तविकता के थियो त?उच्च सुरक्षा स्रोतका अनुसार, बालुवाटारबाट भाद्र २४ गते साँझ हेलिकोप्टरबाट उद्धार गरिएका तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली सेनाले मकवानपुरस्थित चनवन व्यारेकमा पुर्याएको थियो।
नेपाली सेनाको वाहिनी नै रहेको सो स्थान कुलेखानी जलासयभन्दा केही काठमाडौंतिर सबैभन्दा अग्लो स्थानमा अवस्थित छ। तत्कालीन प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य थिए।
यी चारैजनालाई एउटै हेलिकोप्टर चढाएर बालुवाटारबाट सेनाले उद्दार गरी त्यहाँ पुर्याएको थियो। ओली हिजो अर्थात् असोज २ गते बिहीबार सैनिक हेलिकोप्टर चढेर नै काठमाडौं फर्काइएका छन्।
समाचारअनुसार, ओलीका साथमा लगिएका चारैजना काठमाडौं फर्किएका छन्। उनीहरुलाई सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्टिय विमानास्थल ल्याएर छाडेको थियो। त्यसपछि ओली र उनको चारजनाको समूह नै भक्तपुरको गुण्डुमा खोजिएको डेरामा गएको थियो।
त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए। उनलाई सेनाले त्यहाँ पुर्याएको नभई सुरक्षित स्थान खोज्ने क्रममा आफैं त्यहाँ पुगेका थिए।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपाली सेनाको सिंहदरबारस्थित व्यारेकमा राखिएका थिए। उनी त्यहाँ केही दिन बसेपछि स्थिति साम्य भएपछि बाहिरिए।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेपाली सेनाको शिवपुरीस्थित शिक्षालयका पाहुना बन्न पुगेका थिए। उनले सैनिक व्यारेकमा सुरक्षित हुन चाहेको बताएपछि उनलाई त्यहाँ लगिएको थियो।
सर्बोच्च अदालतका प्रधानन्यायाधीशसहितका न्यायाधीशहरुलाई सिंहदरबारस्थित व्यारेकमै सेनाले सुरक्षित राखेको थियो। त्यसैगरी नेपाली सेनाको भैरवनाथ गणमा नेपाल सरकारका १३ जना मन्त्री र तीनका परिवारलाई राखिएको थियो। मन्त्री क्वार्टरबाट हेलिकप्टरमार्फत उनीहरुलाई भैरवनाथ गण पुर्याइएको थियो।
यसैगरी राजनीतिक दलका केही मध्यमस्तरका नेताहरुलाई नारायणहिटी राजदरबारस्थित सैनिक व्यारेकमा राखिएको थियो। उनीहरु को को थिए भन्ने विवरण खुलिसकेको छैन। स्रोतका अनुसार, नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई उद्दार गर्न निकै सकस परेको थियो।
तोडफोडको समयमा घरमै रहेका महामन्त्री थापा र उनको परिवार पछाडिबाट छिमेकीको घरमा शरण लिन पुगेको थियो। गल्ली सानो भएकोले पनि हुल्दंगाकारीहरुलाई हटाउन सुरक्षा फौजलाई मुस्किल परेको थियो।
पछि सेनाले हुल नहटे गोली नै चलाउने भनेपछि हुल पछि हटेको र साँझ ५ बजेतिर गगन र उनको परिवारलाई रेस्क्यू गरी गगनले नै भनेको अर्को घरमा लगेर राखिएको थियो।