
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले आफ्नो पहिलो बैठक हिजो जूममार्फत सम्पन्न गरेको छ। समितिका संयोजक श्री बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागी सदस्यहरुले विदेशमा बस्दै आएका नेपाली समुदायका अनुभव, चिन्ता र अपेक्षाहरु प्रस्तुत गर्नुभएको थियो।
बैठकले नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मतदान अधिकार जस्ता राष्ट्रका महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकाल्दै आइतबार, २३ नोभेम्बर, दिउँसो २ बजे (यूके समयमा) जूम मार्फत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। अन्तरक्रिया कार्यक्रममा प्रमूख अतिथिका रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा शहरी विकास मन्त्रालयका माननीय मन्त्री कुलमान घिसिङ र विशेष अतिथिमा वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका निवर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे रहने समितिले जनाएको छ ।
यस कार्यक्रमले अर्थपूर्ण प्रभाव पार्ने विश्वास समितिका सदस्य डा. कुल प्रसाद कंडेलले व्यक्त गर्नुभयो।
समितिका अनुसार, विदेशमा बस्ने नेपालीका लागि नागरिकता निरन्तरता र मतदान अधिकार कानूनी विषय मात्र नभई हाम्रो पहिचान, मातृभूमिप्रतिको दायित्व र आगामी पुस्तासंग जोडिएको संवेदनशील मुद्दा हो। सम्बन्धित सबैलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न आग्रह गरिएको छ।







