बढ्दैछन् ओलीका चुनौती, शक्तिको आसक्तिले लखेटिने जोखिम

काठमाडौं। विस्थापित प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्थापित हुने प्रयत्नमा लागिपरेका छन्। शक्ति आर्जनको लागि उनले धेरै किसिमका विकल्पहरु प्रयोग पनि गरिरहेका छन्। उनले आफू पार्टी अध्यक्षमा कायमै रहिरहने र नेतृत्वको लागि दाबी गर्ने स्पष्ट पारिसकेका छन्।

 

पार्टीको सचिवालयमै अल्पमतमा परिसक्दा समेत उनले पार्टीको अध्यक्षता छाड्न अस्वीकार गरेका हुन्। अब आउँदो महाधिवेशनबाट फेरि अध्यक्ष निर्वाचित हुने उनको दाबी छ।

 

ओली आत्मविश्वासी देखिँदै विभिन्न दाबी गर्ने कुरामा आफ्ना समकक्षी नेताहरुभन्दा अब्बल छन्। उनले यस्ता धेरै दाबीहरु निकै आत्मविश्वासका साथ गरेका छन् जो तथ्यगत रुपमा पुष्टि भएका छैनन्।

 

आधारहीन कुराहरु समेत ठोकुवाका साथ बोल्ने हुनाले केहीले ओलीलाई ‘जे पनि बोलिदिने’ नेताका रुपमा चित्रण गर्छन्। पछिल्लो समय ओलीले आफू पार्टी अध्यक्षमा निर्वाचित हुने र आफूले निर्देशनात्मक भाषण गरेपछि आफ्नो पार्टीको महाधिवेशन समापन हुने दाबी गरेका छन्। उनले अध्यक्षमा आफूसँग प्रतिस्पर्धा गर्ने व्यक्ति एमालेमा हुँदै नभएको ठोकुवा समेत गरेका छन्।

 

ओलीले सार्वजनिक रुपमा बोल्दा जे बोलेको भए पनि उनका दाबीहरुलाई सही मान्न सकिने स्थिति भने छैन। आफू अध्यक्षमा निर्वाचित हुने ठोकुवा गरेका भए पनि ओली पार्टीको सचिवालयमै अल्पमतमा छन्।

 

सचिवालय बैठकमा आधाजति पदाधिकारीहरुले ओलीले पार्टीको नेतृत्व छाड्दा राम्रो हुने बताएका थिए। भलै ओलीले उनीहरुको आग्रहलाई सुनेनन्। पार्टीमा आफूसँग प्रतिस्पर्धा गर्ने कोही नभएको दाबी गरे पनि ओली पूर्वराष्ट्रपति विद्या भण्डारी अध्यक्षको उम्मेदवार भएमा उनीसँग हार्ने कुराले डराएका थिए भन्ने कुरामा पार्टीका मात्रै नभइ पार्टी बाहिरका आम नागरिक पनि सहमत छन्।

 

आफू फेरि अध्यक्ष बन्नकै लागि पार्टीमा विद्या भण्डारीलाई निषेध गरेका ओलीले यही प्रयोजनका लागि पार्टी विधानमा भएका उमेरहद र दुई कार्यकाल सम्बन्धी प्रावधान हटाएका थिए।

यी प्रावधान पहिले ओलीकै जोडबलमा विधानमा व्यवस्था गरिएका थिए तर अहिले आउँदै यी व्यवस्थाले उनकै बाटो छेक्ने स्थिति आएपछि उनले ती प्रावधान हटाएका थिए। आफूलाई अध्यक्ष बन्नबाट रोक्न सक्ने व्यक्तिलाई पन्छाएका र पार्टीको विधानमा भएका व्यवस्था समेत संशोधन गरेका भए पनि ओलीलाई अध्यक्षमा कायमै रहन भने कठिन देखिएको छ।

 

स्रोतका अनुसार ओलीले पार्टीमा निषेध गरेकी पूर्वराष्ट्रपनि विद्या भण्डारी आफैं पार्टी अध्यक्षमा लड्न प्राविधिक रुपले नमिल्ने भएपनि पार्टीको नेतृत्वमा आफ्नो पक्षलाई स्थापित गराउने गृहकार्यमा सक्रिय छिन्।

 

भण्डारीको टिमबाट पार्टी अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार बन्ने सम्भावना उच्च छ। पोखरेल भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने पक्षका नेता हुन् । पोखरेलसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरु पोखरेलको प्यानलबाट पदाधिकारीमा उम्मेदवार हुने तयारीमा छन्।

 

यसअघि डिसीनेपालसँगको कुराकानीमा पनि उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्ट रुपमै अध्यक्षसहितका पदहरुमा प्रतिस्पर्धा हुने बताएका थिए। यद्यपि त्यतिबेला उनले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने व्यक्तिबारे स्पष्ट बताएका थिएनन्।

 

तर, पार्टी महाधिवेशन नजिकिँदै गर्दा ओलीसँग प्रतिस्पर्धामा उत्रिने अध्यक्षको उम्मेदवार मात्र नभइ पदाधिकारीहरुको पूरै प्यानल नै तयार भइसकेको स्रोत बताउँछ।

 

स्रोतका अनुसार पार्टी नेतृत्वका लागि एकजुट भएको विद्या भण्डारी पक्षका नेताहरुको समूहलाई पार्टीभित्र ठूलो संख्यामा समर्थन समेत छ। ‘पूर्वराष्ट्रपति नै अध्यक्षको उम्मेदवार भएको अवस्थामा उहाँले जित्ने बलियो सम्भावना देखेरै अध्यक्षले उहाँलाई पार्टी सदस्यता नवीकरण गर्नबाटै रोक्नुभएको स्पष्टै छ’ स्रोतले भन्यो ‘त्यही समूह संगठित भएकोले पार्टीको नेतृत्वमै आउने सम्भावना उच्च छ।’ यदि दावी गरिएजस्तै प्रतिस्पर्धी समूहसँग ओली पराजित भएमा उनी पार्टीको नेतृत्वबाट मात्र बाहिरिने छैनन्, उनी लखेटिने स्थिति आउनेछ।

 

ओलीले प्रधानमन्त्री पद रहरले छाडेका होइनन्, उनी बालुवाटारबाट लखेटिएका हुन्। उनले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्। तर, उनको दाबीअनुसार प्रतिनिधि सभा पुनस्र्थापना हुने सम्भावना भने अहिलेसम्म देखिएको छैन।

 

अन्य दलहरुले विघटनलाई स्वीकार गरेर निर्वाचनको तयारी गरिरहँदा ओलीको फेरि यही संसदबाट प्रधानमन्त्री बन्ने चाहना आकाशको फलजस्तै देखिन्छ।

 

ओली शक्तिमा फर्किनको लागि पहिले पार्टीभित्र शक्तिमा कायमै रहनुपर्छ । तर, पार्टी अध्यक्षमा कायम रहिरहन उनले जुन हिसाबले पदप्रति आसक्ति देखाएका छन् त्यो उनकै लागि प्रत्युत्पादक हुने खतरा रहन्छ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी सहजै कार्यवाहक सभापति अर्कालाई दिए, त्यसले पार्टीभित्र उनको कद बढायो। तर, एमालेका अध्यक्षले जसरी एक मिनेट पनि अर्कालाई नेतृत्व नदिने शैली देखाएका छन् त्यसले भोलिका दिनमा उनको सम्मान पनि घटाउनेछ।

 

छोड्नै नचाहेको पदबाट पराजित भएर बाहिरिनु परेमा त्यो ओलीका लागि सहज बहिर्गमन हुने छैन। त्यो स्थिति भनेको पार्टीबाट लखेटिएको मान्नुपर्छ। प्रधानमन्त्रीबाट लखेटिएका ओली पार्टी अध्यक्षबाट समेत लखेटिएमा भोलिका दिनमा एमालेजनले उनलाई सम्मानका साथ सम्झिएलान्?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार