शेरधनलाई हराउने ध्रुर्वराज को हुन ?

भोजपुर । ३ महिनाअघि मात्र एमाले छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा भित्रिएका भोजपुरका ध्रुवराज राईले आफ्नै पूर्वनेता हेभिवेट उम्मेदवार शेरधन राईलाई पराजित गरे । यो चुनावको ‘नयाँलाई रोज्ने’ देशव्यापी ट्रेन्ड, हर्क साम्पाङको क्रेज र ध्रुवलाई पालिका अध्यक्ष हुँदा गरेका काम, साधारण लवाइखवाइले फाइदा पुगेको विश्लेषण गरिन्छ ।

 

गत पुस २ गते हर्क साम्पाङसँग टीका लाउँदै उनले भनेका थिए, ‘चिया पसलमा पार्टी र नेतालाई गाली गरेको सुन्दा एमाले हुँ भन्न लाज लाग्न थाल्यो, अब हर्क साम्पाङलाई काँधमा जुरुक्क बोकेर हिँड्छु’

 

शेरधनलाई ध्रुवराजले १९९३ मतले पराजित गरे । उनी १६६६३ मतसहित निर्वाचित हुँदा शेरधन १४७५० मतमा रोकिए ।

यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५७२८ मत ल्याए ।

पछिल्लो समय केपी ओलीले पार्टीमा एकलौटी गर्न थालेको भन्दै ध्रुव असन्तुष्ट सुनिन्थे । प्रदेश कमिटीमा भए पनि कामको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका उनको असन्तुष्टिको पारो महाधिवेशन प्रतिनिधिमा ‘तगारो’ लाएको भन्दै विस्फोट भएको थियो ।

 

भोजपुरबाट ३ पटक चुनाव जितिसकेका शेरधनलाई जसरी पनि ‘छेक्ने’ एकमात्र लक्ष्य लिएर उनी चुनावको तयारीमा लागे । मोटरसाइकलमा स्पिकर बाँधेर जिल्ला दौडाहा निस्किए जति जना भेला हुन्छन् त्यतिलाई आफ्ना कुरा राख्दै हिँडे । आफू भ्रष्टाचार नगर्ने, इमान र निष्ठासहित भोजपुरको विकासका लागि काम गर्ने भन्दै उनले टेम्केमैयुङ गाउँपालिकालाई आफ्नो पालामा उज्यालो बनाएको उदाहरणसहित घरदैलो गरेका थिए ।

 

शेरधनका यसअघिका सदावहार प्रतिस्पर्धी सुदन किरातीले पनि ध्रुवलाई समर्थन गर्दै आफ्नो पार्टी (प्रलोपा) का उम्मेदवार मैदानमा नल्याउने बताएका थिए ।

को हुन् ध्रुव ?

३९ सालमा भोजपुरको नागीमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए ।

 

अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२/६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका उनी आर्मीका ब्यारेक, प्रहरी/प्रशासनअगाडि हाक्काहाक्की राजाविरोधी नारा र भाषण गर्थे ।

 

२०७४ स्थानीय चुनावमा होमिएदेखि नै उनलाई ‘ध्रुवे हात्ती’ को उपमा दिइयो । एकताका चितवनमा ध्रुवे हात्तीको जगजगी थियो । धेरैलाई आतंकित पारेको ध्रुवे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका ध्रुवराजलाई कार्यकर्ताहरूले ‘धुर्वे हात्ती’ को संज्ञा दिएका थिए ।

 

५ वर्ष अधिकांश जनप्रतिनिधिलाई ‘ठाँट’ पल्टेको आरोप लागिरहँदा उनी यसबाट मुक्त भए । एउटा छड्के ब्याग कहिले छाडेनन् । फाट्टफुट्ट औपचारिक पोशाकबाहेक साधारण ड्रेसमै हिँड्थे । गाडीभन्दा बढी बाइकमै कुद्थे । ७९ को चुनावमा भने उनी कांग्रेसका सरोज बस्नेतसँग पराजित भए । राई ‘चुनावी नेता’ का रूपमा समेत परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार