घरेलु हिंसा सामना गरिरहेका ९८ जना पुरुषले दिए प्रहरीमा निवेदन

नागार्जुनका ४० वर्षीय युवा समीर केसी (नाम परिवर्तन) सानोतिनो व्यापार व्यवसाय गर्छन् । उनी घर नजिकै कपडा र किराना पसल चलाउँछन् । ४ वर्ष अघिसम्म समीरको जीवनको रथ राम्रैसँग गुडिरहेको थियो । एक छोरी र श्रीमती खुसी नै थिए । तर, श्रीमती एकाएक बिरामी हुन थालिन् । समीर पसल बन्द गरी श्रीमतीको उपचारमा जुटे ।

 

काठमाडौंका सरकारीदेखि निजी अस्पतालसमेत धाउन थाले । तर, समीरकी श्रीमतीको स्वास्थ्य बिग्रँदै गयो । बिरामी हुन थालेको केही समयमै समीरकी श्रीमतीको निधन भयो । समीरको जीवन एकाएक रित्तो भयो । श्रीमतीको मृत्युपछि छोरीको स्याहार–सुसार गर्ने सबै जिम्मेवारी समीरको काँधमा पर्‍यो । श्रीमतीबिनाको समीरको एक्लो जीवन चलाउन नसक्ने अवस्थामा पुगे ।

श्रीमतीको मृत्युको एक वर्षपछि उनी अर्को विवाह गर्ने निर्णयमा पुगे । चिनजानकै साथीबाट सम्पर्क भएकी एक महिलासित विवाह गर्ने निर्णयमा उनी पुगे । श्रीमान्‌ले अर्को विवाह गरेर सम्बन्ध विच्छेद गरेकी ती महिला समीरसित विवाह गर्न राजी भएपछि विवाह भयो । दोस्रो श्रीमतीबाट छोरा जन्मियो । दोस्रो श्रीमतीबाट छोरा जन्मेपछि उनी खुसी थिए । तर, समय बित्दै जाँदा समीरको जीवनमा पीडाको पहाड थपिँदै गयो ।

 

श्रीमतीले आफूमाथि गर्ने व्यवहार परिवर्तन गएको पाए, समीरले । श्रीमतीको व्यवहारबाट समीर आजित मात्रै भएका छैनन्, प्रहरी नै गुहार्न बाध्य भए । केही समयअघि श्रीमतीबाट पीडित भएको जिकिरसहित उनी जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका हुन् । समीरबारे परिसरका एसपी पवन भट्टराई भन्छन्, “पहिलो श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्नुभएको रहेछ । तर, दोस्रो श्रीमतीले गर्ने व्यवहारबाट आजित भएको देखिन्छ । केही सामान्य कुरामा श्रीमती नै हातपातको अवस्थामा पुगेको समेत देखियो ।”

 

समीरले आफू श्रीमतीबाट अलग बस्ने र त्यसको कानुनी सहयोग माग्दै प्रहरीमा निवेदन दिएको जानकारी एसपी भट्टराईले दिए । श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीको सहयोगका लागि निवेदन दिने समीर एक्ला पुरुष होइनन् । जिल्ला प्रहरी परिसर भद्रकालीमा असोजयता ९८ जना पुरुषले निवेदन दिएका छन् ।

 

महिलामाथि हिंसा भएका उजुरी प्रहरीमा पुग्नु नौलो कुरा थिएन । तर, पुरुषले नै आफू पीडित भएको जिकिरसहित बढ्दो उजुरीका घटनाले प्रहरी चकित छ । आफू श्रीमतीबाट पीडित भएँ भनेर निवेदन दिने पुरुषहरूमा सामान्य परिवारदेखि शिक्षित परिवारसम्म रहेको एसपी भट्टराई बताउँछन् । उनी थप्छन्, “श्रीमतीबाट पीडित भएँ भनी आउने पुरुषहरू सामान्य घर–परिवारका मात्रै छैनन् । शिक्षित परिवार र आर्थिक अवस्था राम्रो भएका परिवारहरूमा पनि यो समस्या देखिन्छ ।”

 

प्रहरीले पछिल्लो समय श्रीमतीबाट पीडित पुरुषहरूका उजुरीका आधारमा तिनका श्रीमतीलाई सोधपुछ गर्नेदेखि दुवैलाई ‘काउन्सिलिङ’ गर्ने गरेको छ । प्रहरीको महिला सेलमार्फत समस्यामा परेका श्रीमान्–श्रीमती दुवैलाई सम्झाउने काम हुँदै आएको छ । कतिपय प्रहरी कार्यालय पुगेपछि सम्बन्ध जोडिएको उदाहरणसमेत छन् ।

 

प्रहरीमा परेका निवेदनहरूमध्ये अधिकांश वैदेशिक रोजगारीमा रहेका पुरुषहरूको छ । विदेशबाट फर्किंदा आफूले कमाएर पठाएको पैसा श्रीमतीले परपुरुषसित सम्बन्धमा परी सकाएको मात्र होइन कि श्रीमती सम्पर्कमा नरहेको भन्दै निवेदन दिएका छन् ।

 

परिसरका एसपी पवन भट्टराईका अनुसार, निवेदन दिने पुरुषहरूले श्रीमतीको परपुरुषसितको सम्बन्ध तथा पैसा हिनामिना र कतिपयले पैसासमेत लिएर सम्पर्कमै नरहेको भन्ने निवेदन दिएका छन् । कतिपय पुरुषले श्रीमतीको अवैध सम्बन्ध थाहा पाएपछि विच्छेदको प्रक्रियामा सहज गरिदिन निवेदन दिएका छन् ।

 

पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्थामा स्थानीय तहबाट प्रक्रिया थाल्नुपर्ने हुन्छ । महिलाका हकमा भने त्यो लागु हुँदैन । श्रीमतीविरुद्ध निवेदन दिने पुरुषहरू शारीरिक र मानसिक दुईखाले समस्याबाट आजित देखिने गरेको प्रहरीको भनाइ छ ।

 

जिल्ला प्रहरी परिसरको तथ्यांकले काठमाडौंमा पछिल्ला ६ महिनाको अवधिमा घरेलु हिंसाका ७२७ निवेदन परेका छन् । यसैगरी लैंगिक हिंसाका ३१२ निवेदन परेका छन् । यसरी हिंसामा परेका ९२० जनालाई मनोपरामर्शसमेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार