
लन्डन । मनोविद तथा समाजसेवी डा. सुमाया राईको जिवनयात्रा कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजानिक गरिएको छ । नेपाली महिला समाज बेलायतले बिशेष कार्यक्रम गरी शनिवार लन्डनको साउथ हेरोमा पुस्तक बिमोचन तथा बिमर्श गरी सार्वजानिक गरिएको हो ।
बरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतको लन्डनमा औपचारिक रूपमा सार्वजानिक गरेका हुन । सार्वजानिक गरिएको पुस्तक माथि बहस समेत गरिएको थियो ।
पुस्तक माथि साहित्यकार बिजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार बिमला सेने, समाजसेवी तथा सञ्चारकर्मी बिश्वासदीप तिगेला र साहित्यकार डाक्टर रूपक श्रेष्ठले टिप्पणी गरेका थिए । बहसलाई कवि तथा साहित्यकार शसी सुब्बा थापाले सहजीकरण गरेका थिए ।
समाजसेजी राईको यो पाचौ कृति हो । उनको यस अघि अन्य कृतिहरू प्रकाशित भईसकेको छ । कार्यक्रममा पहिलो र दोस्रो खण्डमा सञ्चालन भएको थियो । कार्यक्रमको पहिलो खण्डमा उद्घाटन तथा शुभकामना मन्तब्य राखिएको थियो । कार्यक्रममा सहित्यकारहरू दुर्गाप्रसाद पोखरेल, राज श्रेष्ठ, देवेन्द्र खेरेस, निर्भिकजंग रायमाझी र खुपेन मगरले शुभकामना मन्तब्य राखेका थिए । पहिलो खण्डको कार्यक्रम नेपाली महिला समाज बेलायतको सचिव रिना पाम्फुले सञ्चालन गरेकी थिईन ।
कार्यक्रममा कुमारी निरौलाले कविता समेत वाचन गरेकी थिईन । कार्यक्रममा पुस्तकको समिक्षा गर्दै अतिथिहरूले प्रसंगगत रूपमा यसको अध्यायहरू लेख्नका लागि सुझाव र बाँकी लेखन यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, टिप्पणीकारहरु साहित्यकार बिजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार बिमला सेने, समाजसेवी तथा सञ्चारकर्मी बिश्वासदीप तिगेला र साहित्यकार डाक्टर रूपक श्रेष्ठलाई दोसल्ला र प्रशंसा–पत्रबाट सम्मान समेत गरिएको थियो । नेपाली महिला समाज बेलायतको अध्यक्ष विमलाकुमारी राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएकी डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुन् । उनले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर ‘जिन्दगी फूल सम्झे फूलै होः जीवनयात्रा’ कृति सिर्जना गरेकी हुन ।
साढे पाँचसय पृष्ठमा विस्तारित कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न गरिएका छन् ।
यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता संग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत संग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीत संग्रह, २०७५) प्रकाशित छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको छ ।









