रास्वपा महाधिवेशनको तयारी तीब्र: चितवन आउने पाहुनाका लागि होटल र खानामा विशेष छुट, अनुगमन समिति नै गठन

चितवन, ३ असार ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनको तयारी चितवनमा तीव्र पारिएको छ। आगामी असार ७ गतेदेखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनमा देशैभरिबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरूको स्वागतका लागि स्थानीय होटल व्यवसायीहरूले विशेष सक्रियता देखाएका छन्।

महाधिवेशनमा आउने अतिथि तथा पाहुनाहरूको सम्मान र सुविधालाई ध्यानमा राख्दै चितवनका होटल व्यवसायीहरूले आवास तथा खानामा आकर्षक छुटको घोषणा समेत गरेका छन्।

आवासमा २५% र खानामा १०% सम्म छुट

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुन आउने पाहुनाहरूका लागि विशेष प्याकेजको व्यवस्था गरिएको छ:

  • आवास (रुम) मा: २५ प्रतिशत छुट

  • खाना र पेयपदार्थमा: १० प्रतिशत छुट

यो छुटको व्यवस्था भरतपुर महानगरपालिकाभित्रका साथै चितवनसँगै जोडिएको नवलपुरको गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा समेत लागू हुनेछ।

छुट पाए/नपाएको हेर्न अनुगमन समिति गठन

पाहुनाहरूले घोषणा गरिएको छुट र गुणस्तरीय सेवा पाए वा पाएनन् भन्ने कुराको निगरानी गर्नका लागि एक विशेष अनुगमन समिति समेत गठन गरिएको छ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार क्षेत्रीय होटल सङ्घमा मात्रै ९० वटा ठूला होटलहरू आबद्ध छन्, जसको कुल क्षमता १० हजारभन्दा बढी पाहुनालाई राख्न सक्ने रहेको छ। यस्तै, होटल व्यवसायी सङ्घमा साना-ठूला (चिया पसलदेखि रेष्टुराँ र होटलसम्म) गरी कुल ६७१ सदस्यहरू आबद्ध रहेका छन्।

३ हजारभन्दा बढी कोठा बुकिङ हुँदै, खर्च प्रतिनिधि आफैँले बेहोर्ने

रास्वपा महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले महाधिवेशनका कारण चितवनका होटलहरूका ३ हजारभन्दा बढी कोठाहरू प्रतिनिधि र पर्यवेक्षकहरूले भरिने जानकारी दिनुभयो।

पार्टीले फजुल खर्च कटौती गर्ने नीति अनुरूप महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरूले आफ्नो आवास र भोजनको खर्च आफैँ बेहोर्ने व्यवस्था मिलाएको छ। होटल व्यवसायीहरूको यो विशेष छुटले महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई आर्थिक रूपमा ठुलो राहत पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार