शरण कुमार राईको नेतृत्वमा नेकपा एमाले भोजपुर सर्वसम्मत

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । आठौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन भएको छ । नेतृत्व चयनका लागि निर्वाचनको सम्भावना प्रबल रहेपनि नेताहरूको पटकपटकको प्रयासपछि सहमतिमै नेतृत्व छानिएको हो ।
अधिवेशनबाट नेकपा एमाले भोजपुरको अध्यक्षमा शरण कुमार राई सर्वसम्मत भए । यस्तै उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यान बहादुर राउत र धर्म किराती सर्वसम्मत निर्वाचित भएका छन् ।
माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई संस्थापन पक्षलाई आत्मसाथ गरेर एमालेमै रहेका थिए । राई एमालेमा रहँदा स्थानीय तहका केही जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।
१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाईएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो ।

को हुन् अध्यक्ष राई?
नेकपा एमाले अध्यक्षमा निर्वाचित शरण कुमार राईले वि.स. २०४९ सालमा अन्नपूर्ण माविको अनेरास्ववियूको प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक यात्रा सुरु गरे । युवा नेतृत्वमा सधैँ अगाडी राई वि.सं. २०५४ सालदेखि लगातार ३ पटक अनेरास्ववियूको जिल्ला अध्यक्ष बने । यस्तै वि.सं. २०५७ सालदेखि वि.सं. २०६१ सालसम्म २ कार्यकाल अखिलको केन्द्रिय कमिटी सदस्य रहे । यस्तै राई वि.सं. २०६७ सालदेखि पार्टीको जिल्ला उपसचिव बने ।
त्यस्तै वि.सं. २०७० सालमा एमालेको सातौँ जिल्ला अधिवेशनबाट राई पार्टी जिल्ला सचिवमा पदोन्नती भए । पछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरणपछि राईले नेकपाको जिल्ला कार्यालय सदस्य एवम् संगठन विभाग प्रमुखको पदको जिम्मेवारी सम्हाले ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका राई राजनीतिक हिसाबले जिल्लाको सबैभन्दा सक्रिय कार्यकर्ताभित्र पर्छन् । चोटिला वक्तव्यका सुत्राधार, उर्जाशिल जोसजाँगर, शालिन विचारधारा र मिलनसार स्वाभावका राई वर्तमान राजनीतिक विश्लेषक पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार