युक्रेनद्वारा युद्धविराम प्रस्ताव

रुससँगको उच्चस्तरीय वार्तामा युक्रेनले तत्काल युद्धविरामका लागि प्रस्ताव गरेको छ । रुसी सेनाले युक्रेनमा आक्रमणको गरेको पाँचौं दिन दुई देशबीच बेलारुसको सीमा क्षेत्रमा शान्तिवार्ता सुरु भएको छ । वार्ताका क्रममा युक्रेनले युद्धविराम गरी आफ्नो भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने माग राखेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले चाहिँ ‘दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको’ रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले जनाएका छन् । शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।

 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आइतबार रुससँग वार्ता गर्न तयार रहेको बताएका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै शान्तिवार्ताका लागि तयार रहेको बताएका थिए ।

 

जेलेन्स्कीले बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण भएकाले उसको क्षेत्रबाट वार्ता नगर्ने बताएका थिए । तर सोमबार दुई देशका प्रतिनिधिबीच बेलारुसमा वार्ता भएको जनाइएको छ । यसअघि वार्ताका लागि रुसले गरेको आग्रह जेलेन्स्कीले अस्वीकार गरेका थिए ।

 

त्यसलगत्तै रुसले युक्रेनमाथिको आक्रमण तीव्र पारेको थियो । त्यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आवश्यक परेको खण्डमा रुस परमाणु हतियार प्रयोग गर्न पछि नपर्ने भन्दै सेनाको परमाणु बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका थिए ।

 

युक्रेनी रक्षा मन्त्रालयले रुससँगको पाँच दिन लामो युद्धका क्रममा हालसम्म ५ हजार ३ सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । सामाजिक सञ्जालमा सार्वजकि विज्ञप्तिमा १ सय ९१ वटा रुसी ट्यांक, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिक बोक्ने ८ सय १६ वटा गाडी नष्ट पारेको दाबी गरिएको छ । यद्यपि, यसको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार