बिदा सकियो, अब के गर्छन् एआईजी विश्वराज ?

नेपाल प्रहरीको आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेको एक महिना बढी भयो। उनको रिटमाथिको सुनुवाई अझै टुंगो लाग्न सकेको छैन।

 

वैशाख १९ गतेबाट आईजीपीको जिम्मेवारी धीरजप्रताप सिंहले पाएपछि विश्वराज पोखरेलले १८ गते नै बिदा हुँदै गरेका आईजीपी शैलेश थापा क्षेत्रीलाई ३० दिनको बिदा स्वीकृत गराएका थिए। यसबीचको सार्वजनिक विदासहित जोड्दा उनको बिदा मंगलबारदेखि सकिएको छ।

 

वैशाख १९ गतेबाट आईजीपीको जिम्मेवारी धीरजप्रताप सिंहले पाएपछि विश्वराज पोखरेलले १८ गते नै बिदा हुँदै गरेका आईजीपी शैलेश थापा क्षेत्रीलाई ३० दिनको बिदा स्वीकृत गराएका थिए। यसबीचको सार्वजनिक विदासहित जोड्दा उनको बिदा मंगलबारदेखि सकिएको छ।

 

तर, बुधबार उनी प्रहरी प्रधान कार्यालय हाजिर हुन तयार छैनन्। हाजिर नहुने हो भने पनि उनले बिदा स्वीकृतिका लागि धीरजप्रताप सिंहलाई निवेदन दिनुपर्छ। विश्वराज धीरजप्रतापलाई आईजीपी मान्न पनि तयार छैनन्।

 

आफूभन्दा जुनियर आईजीपी भएको भन्दै उनी सर्वोच्च अदालतमा गएका हुन्। सर्वोच्चमा उनी आफैँ आईजीपी हुनुपर्ने माग छ। वैशाख १९ गते नै उनले रिट दायर गरेको भएपनि अझै रिटमाथि टुंगो लाग्न सकेको छैन। अर्को पेशी ३० गतेलाई तोकिएको छ। तर, त्यो दिन पनि सुनुवाइ हुने निश्चित छैन।

 

त्यसो भएमा अर्को १५ दिन रिटको टुंगो नलाग्न सक्छ। रिटको सुनुवाइ पछि धकेलिँदै जाँदा विश्वराजमाथि भने चुनौती थपिँदै गएका छन्।  प्रहरीका एक एआईजी भन्छन्, ‘उहाँले सरकारको निर्णय नमान्ने हो भने भोलि थप समस्यामा पर्न सक्नुहुन्छ। हाम्रो संगठनमा बिदा भनेको अधिकार होइन। बिदा स्वीकृत गराइसकेपछि पनि संगठनले बोलायो भने जानैपर्छ।’

 

तर, विश्वराज ३६ दिन विदा बसे। देशभर प्रहरीलाई प्रसुती बिदा र किरिया विदा बाहेक विदा नलिन सर्कुलर हुँदा पनि उनी विदामा थिए। तर, अब विश्वराजले बिदा नपाउन सक्छन्। धीरजप्रतापले चाहे भने उनको विदा स्वीकृत नगर्न सक्छन्। विश्वराजले विदा माग्ने भनेकै धीरजलाई हटाएर आफू आईजीपी बन्ने मुद्दाका लागि हो।

 

अब विश्वराज सामु हाजिर हुँदै मुद्दा लड्ने वा थप विदाका लागि निवेदन गर्ने बाहेकको विकल्प नरहेको एक पूर्वएआईजी बताउँछन्। ‘यो त उनको व्यक्तिगत कुरा मात्रै होइन, फौजको नियमको कुरा पनि हो। भोलि विश्वराजले नियम तोडे भने अरुलाई पनि नजिर बन्छ। सरकारले निर्णय गरिसकेको छ। सर्वोच्चमा रिट परिसकेपछि पनि धीरजले एक महिना बढी काम गरिसके, अब उनीसँग बिदा माग्दिनँ भनेर धर छैन’, उनले भने।

 

अर्को उपाय भनेको विश्वराजले हुलाकमार्फत विदाका लागि निवेदन पठाउन सक्छन्। तर, यसो गर्नका लागि जटिल अवस्था हुनुपर्छ, जुन अवस्थामा विश्वराज हाल छैनन्। यदि बिनाजानकारी उनी गयल भए प्रहरी नियमावलीअनुसार प्रहरी प्रधान कार्यालयले यति दिन भित्र कार्यालयमा हाजिर हुन आउनु भनेर सार्वजनिक सूचना जारी गर्न सक्छ। वा त्यसपछि हेडक्वार्टरले स्पष्टीकरण सोध्न र कारबाही सिफारिस गर्न सक्छ।

 

आईजीपी बनाउने परमादेश सर्वोच्च अदालतबाट नआए उनी साउन २० गते अनिवार्य अवकाशमा जाने छन्। तर, त्यसअघि नै प्रहरी प्रधान कार्यालयबाट उनीमाथि कस्तो कारबाही हुन सक्छ भन्ने उनले बुधबार के गर्छन् भन्ने कुराले तय गर्छ।

 

पोखरेल विदामा छँदै सरकारले उनलाई सरुवा गरिसकेको छ। यसअघि महत्वपूर्ण मानिने मानव स्रोत विभागमा कार्यरत पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिने एआईजी पूजा सिंहले मानव स्रोत विभागको जिम्मेवारी पाउनेछन्।

 

विश्वराजसँगै १० दिनको विदा लिएका कार्य विभागका एआईजी सहकुल थापा भने तत्कालै काममा फर्किए। उनलाई सरकारले कार्य विभागकै जिम्मेवारीमा निरन्तरता दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार