बुटवलमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।

 

उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले उक्त पुस्तक नपाएको बताएका छन् ।

 

बुटवलको मजुवा बस्ने आरती खड्का आफ्ना बच्चाका लागि पुस्तक खरिद गर्न बुटवलको जेसिस चोकमा ७ पटकसम्म आएको बताउँछिन् । ‘कहिले पुस्तक आउँछ भन्छन् बच्चाहरू, यता कहिले कुन पसल, कहिले कुन पुस्तक गर्दा आजसमेत गर्दा ७ पटक भयो, तर अझैसम्म पुस्तक पाउन सकेको छैन,’ उनले भनिन् ।

 

पुस्तक व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव केशव श्रीसले बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्यक्रमअनुसारको पुस्तक पूरा नछाप्दा अभाव देखिएको बताउँछन् । उनले दैनिक रूपमा ‘आवर बुटवल’ पुस्तक खोज्दै अभिभावकहरु आउने गरे पनि दिन नसकिएको बताए ।

 

कक्षा ४, ७ र ५ को ‘आवर बुटवल’ पुस्तक अझैसम्म नछापेको पुस्तक व्यवसायीहरु बताउँछन् । अन्य कक्षाको पुस्तक पनि आवश्यकता अनुसार नपाउँदा विद्यार्थी र अभिभावकले दुःख पाएको श्रीस मगरको भनाइ छ ।

 

यता बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी भने प्रेसले पुस्तक बजार पठाएको जानकारी आफूहरुलाई दिएको बताउँछन् । उनले पुस्तकको अभाव भएको भए बजारमा पठाउनका लागि पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार