व्यायामको उत्तम समय महिला र पुरुषका लागि फरक

एक्सरसाइज अर्थात् शारीरिक व्यायाम जतिबेला गर्दा पनि यसका धेरै फाइदा छन् । तर यसमा सबैभन्दा उत्तम समयको विषयमा कुरा गर्दा महिला र पुरुषका लागि फरक हुने एउटा अमेरिकी अध्ययनले देखाएको छ ।

 

रिसर्चका अनुसार महिलाहरुले बिहानमा एक्सरसाइज गर्दा बढी फ्याट गुमाउँछन् भने पुरुषहरुले चाहिँ बेलुकीपख एक्सरसाइज गर्दा राम्रो हुनेछ ।

 

पुरुष र महिलाहरुमा हुने फरक हर्मोन, फरक जैविक चक्र, सुत्ने उठ्ने साइकलमा भिन्नताका कारण नै यस्तो भएको हुन सक्ने बताइएको छ ।

 

अध्ययनमा ३० जना पुरुष र २६ महिलालाई सहभागी गराइएको थियो । २५ देखि ५५ को उमेरका यी सहभागी स्वस्थ र सक्रिय समूह थिए । यसपछि दुई समुहमा विभाजन गरि विभिन्न फिटनेस कार्यक्रममा १२ हप्तासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको जाँच गरिएको थियो ।

 

दुई समूहमध्ये एउटाले बिहान ८ बजे एक्सरसाइज गरेको थियो भने त्यही अभ्यास अर्को समुहले बेलुकाको ८ बजे गरेको थियो । सबै सहभागीलाई विशेष रुपमा डिजाइन गरिएको खाना खान पनि दिइएको थियो ।

 

प्रत्येक एक्सरसाइजपछि खोजर्ताहरुले सहभागीको रक्तचाप र ‘बडी फ्याट’ को मापन गरेका थिए भने साथै उनीहरुको लचकता, बल, एरोबिक पावर पनि सुरुवातदेखि अन्त्यसम्म परीक्षण गरेका हुन् ।

 

१२ हप्ताको यस ट्रायलमा सहभागी सबैको समग्र स्वास्थ्य अवस्थामा सुधार आएको देखिएको थियो । अध्ययनका नेतृत्वकर्ता डाक्टर पल आर्सेरियो भन्छन्, “एक्सरसाइज गर्ने सबैभन्दा उत्तम समय भनेकै तपाईँले गर्न सक्ने समयमा आफ्नो तालिका अनुसार हो ।”  तर पुरुष र महिलाका लागि बेलुका र बिहानको समयमा यसले केही फरक पर्ने उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार