‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?

काठमाडौँ, ९ असार ।

नेपालमा केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु (Bird Flu) सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ। विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरू— काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा देखा परेका छन्।

बर्ड फ्लु कुखुरासहित चराचुरुङ्गीमा लाग्ने एक सङ्क्रामक भाइरस हो। यो विशेषगरी रोगी चरा वा फार्मको प्रत्यक्ष सम्पर्कमा रहने मानिसमा सर्न सक्छ, तर मानिसबाट मानिसमा यो खासै सर्दैन। यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन डा. विमल शर्मा चालिसेसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

बर्ड फ्लु भनेको के हो? यसलाई हामीले कसरी बुझ्न सक्छौँ?

बर्ड फ्लु एक किसिमको भाइरस हो, जुन विशेष गरी कुखुरा लगायतका चराचुरुङ्गीहरूमा बढी देखिन्छ। नेपालमा केही दिनदेखि यो निरन्तर देखिँदै आएको छ र नेपालका धेरै जिल्लामा यसको सङ्क्रमण फैलिरहेको छ।

कुखुराबाट मानिसमा र मानिसबाट मानिसमा यो रोग सर्ने सम्भावना कत्तिको हुन्छ?

बर्ड फ्लु लागेको कुखुरा वा रोगी चराचुरुङ्गीको प्रत्यक्ष सम्पर्कमा रहने मानिसमा यो रोग सर्ने सम्भावना हुन्छ, तर मानिसबाट मानिसमा सरेका उदाहरण भने अहिलेसम्म उल्लेख्य रूपमा भेटिएका छैनन्।

बर्ड फ्लु फैलिरहेको बेला कुखुराको मासु र अण्डा खाँदा कत्तिको जोखिम हुन्छ?

यदि स्वस्थ कुखुरा र त्यसबाट उत्पादित अण्डा हो भने खान डराउनु पर्दैन। तर बर्ड फ्लु लागेको कुखुरा वा त्यसबाट उत्पादित अण्डा हो भने मानिसमा सर्ने सम्भावना रहन्छ। त्यसैले, रोगी चराचुरुङ्गीको सम्पर्कमा नबस्नु र त्यस्ता उत्पादन नखानु नै बेस हुन्छ।

मानिस र चराचुरुङ्गीमा देखिने लक्षणहरू

मानिसमा देखिने लक्षण
रुघाखोकी, आँखा रातो हुने, घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने (जटिल भएमा निमोनिया)

चराचुरुङ्गीमा देखिने लक्षण
अचानक धेरै सङ्ख्यामा मर्नु, अण्डा उत्पादन घट्नु, घाँटीको भाग सुन्निनु

मानिसमा बर्ड फ्लु भएको कसरी थाहा पाउने र शङ्का लागेमा के परीक्षण गर्ने?

मानिसमा देखिने लक्षणहरू अन्य मौसमी रुघाखोकीसँग मिल्दाजुल्दा हुन्छन्। आँखा रातो हुने, रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र खोकी लाग्ने यसका सामान्य लक्षण हुन्। जटिल अवस्थामा निमोनिया हुने र शरीरका अन्य अङ्गहरूमा पनि असर पुग्न सक्छ। बर्ड फ्लु देखिएको क्षेत्रमा बस्ने वा त्यस्तो फार्ममा काम गर्ने मानिसमा यी लक्षण देखिएमा तुरुन्त परीक्षण गराई बर्ड फ्लु भए–नभएको पत्ता लगाउनु पर्छ।

कुखुरा वा चराचुरुङ्गीमा बर्ड फ्लु लागेको कसरी पहिचान गर्न सकिन्छ?

चराचुरुङ्गीहरू अचानक धेरै सङ्ख्यामा मर्नु, अण्डा उत्पादन घट्नु, घाँटीको भाग सुन्निएको जस्तो देखिनु यसका लक्षण हुन्। यद्यपि, नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेपछि मात्रै बर्ड फ्लु भएको निश्चित रूपमा थाहा हुन्छ।

पहिले व्यावसायिक कुखुरामा मात्र देखिने बर्ड फ्लु अहिले जङ्गली चराचुरुङ्गीमा पनि देखिनुको कारण के हो? के यो कुनै नयाँ भेरियन्ट हो?

यसको नाम नै बर्ड फ्लु भएकाले यो सबै चरा प्रजातिमा हुन सक्छ। मानिसहरूले कुखुरा धेरै पाल्ने र मासु खाने भएकाले कुखुरामा मात्र हुन्छ भन्ने विश्वास बसेको हो, तर यो जुनसुकै चराचुरुङ्गीमा पनि देखिन सक्छ।

बर्ड फ्लुबाट बच्न डाक्टरका महत्त्वपूर्ण सुझावहरू

  • ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा पकाउँदा यो भाइरस मर्ने हुनाले मासु र अण्डा जहिले पनि राम्ररी पकाएर मात्र खानुहोस्।

  • अहिलेको अवस्थामा स्वादका लागि ‘हाफ बोइल’ अण्डा वा नपाकेको मासु खाने गल्ती कतिपयले गर्छन्, जुन निकै जोखिमपूर्ण छ। अण्डाको पहेँलो भाग पनि सारो हुने गरी पकाएर मात्र खानु सुरक्षित हुन्छ।

  • यदि एउटै फार्मका केही कुखुरा मरेका र केही जीवित छन् भने ती जीवित कुखुरा पनि खान मिल्दैन। फार्ममा सङ्क्रमण देखिएपछि सबै कुखुराहरू सङ्क्रमित भइसकेका हुन सक्छन् र लक्षण नदेखिए पनि त्यस्ता कुखुराको मासु खानु जोखिमपूर्ण हुन्छ।

बर्ड फ्लुबाट बच्ने अन्य उपायहरू के–के हुन्?

  • फार्ममा काम गर्ने व्यक्तिहरूले कुखुरा अचानक मर्न थाले वा अण्डा उत्पादन घटेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने।

  • काम गर्दा व्यक्तिगत सुरक्षाका सामग्रीहरू जस्तै मास्क, पञ्जा, गाउन आदि अनिवार्य प्रयोग गर्ने।

  • चराचुरुङ्गी धेरै भएको वा सङ्क्रमण फैलिएको ठाउँमा जाँदा मास्क र चस्मा लगाउने।

  • साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिने।

बर्ड फ्लुको मानवीय जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ?

यसमा ‘एक स्वास्थ्य’ (One Health) अवधारणा अनुसार मानव, पशु र वातावरण सबै पक्षलाई सँगै राखेर हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालयले बिरामीको उपचार र शङ्कास्पद बिरामीहरूको समयमै पहिचान र निदान (Diagnosis) गर्ने चुस्त व्यवस्था मिलाउनु पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार