भोजपुरको सिद्धकाली इङ्लिस बोर्डिङ स्कुलमा ‘विद्यालय नर्स’ को व्यवस्था, विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण

भोजपुर ।
भोजपुर जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित सिद्धकाली इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘विद्यालय नर्स’ (School Nurse) को व्यवस्था गरेको छ। विद्यार्थीहरू बिरामी पर्दा तत्काल उपचार गर्न र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न विद्यालयले स्टाफ नर्स विपसना मोक्तानलाई नियुक्त गरेको हो।

नर्स मोक्तानले दैनिक रूपमा विद्यालयमै रहेर विद्यार्थीहरूको स्वास्थ्य जाँच गरिरहनुभएको छ। विद्यालयले विद्यार्थीका लागि मात्र नभई अभिभावकहरू समेत लाभान्वित हुने गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ।

विद्यालयका प्रिन्सिपल दिपाङ्कर तामाङका अनुसार विद्यालयमै नर्सको व्यवस्था भएपछि सानातिना स्वास्थ्य समस्या आउँदा विद्यार्थीहरूलाई बाहिर अस्पताल धाइरहनुपर्ने बाध्यता हटेको छ। यसबाट समयको बचत हुनुका साथै अभिभावकहरूलाई समेत ठुलो राहत मिलेको प्रिन्सिपल तामाङले बताउनुभयो।

शैक्षिक क्षेत्रमा समेत उत्कृष्ट छवि बनाएको यो विद्यालय भोजपुर जिल्लामै माध्यमिक शिक्षा परीक्षा (SEE) मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयको रूपमा परिचित छ। यसअघिका SEE परीक्षाहरूमा भोजपुर जिल्ला प्रथम र साविक पूर्वाञ्चल विकास क्षेत्रमै प्रथम स्थान हासिल गरेर यसले आफ्नो साख स्थापित गरिसकेको छ।

विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरूको चौतर्फी विकासका लागि दैनिक रूपमा कम्प्युटर, नृत्य, कराँते तथा आर्ट (कला) जस्ता अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।

विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई बलियो बनाउन नृत्य तथा खेलकुद आवश्यक रहेको र वर्तमान समयको मागअनुसार प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर कक्षालाई अनिवार्य गरिएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत (CEO) शरण कुमार राईले जानकारी दिनुभयो। समयको गति र प्रविधिको विकास अनुसारकै व्यावहारिक शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उद्देश्य रहेको CEO राईको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार